INSEC Online

📅 २०८३ असार ३२

जिल्ला कारागार र थुनुवा कक्षको इन्सेकद्वारा अनुगमन

धनकुटा जिल्ला कारागार तथा हिरासत कक्षको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८३ असार ३० गते कैदीबन्दी र थुनुवामा रहेका व्यक्तिको अवस्थाका अनुगमन गरेको छ । इन्सेक कोशी प्रमुख मनोहर कुमार पोख्रेल नेतृत्वको टोलीले १ सय ७२ कैदीबन्दी रहेको धनकुटा कारागार र २३ जना थुनुवा रहेको प्रहरी कक्षको अनुगमन गरेको हो । ३५ जनाको क्षमता रहेको धनकुटा कारागारको पुरुष कक्षमा १ सय ६९ कैदी बन्दी रहेका छन् भने १५ जनाको क्षमता रहेको महिला कारागारमा तीन जना रहेका छन् ।

कारागारमा कैदीबन्दीहरुलाई के कस्तो समस्या छ ? हिरासतमा रहेकाहरुको समस्या के छ भन्ने बारेमा इन्सेकले अनुगमन गरेको हो । कैदीबन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन इन्सेकले पटकपटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । सोही ध्यानाकर्षणका लागि अनुगमन गरिएको इन्सेक प्रदेश प्रमुख पोख्रेलले बताउनु भयो ।

कैदीबन्दीहरुले आफूहरुलाई खान, बस्न, सुत्न, परिवारसँगको भेटघाटसहित पत्रपत्रिका, रेडियो, टेलीभिजन समेतको व्यवस्था भएको प्रतिक्रिया दिएका छन् । कारागारमा रहेका चौकीदार रामकुमार राईले कारागारमा खानेपानीको समस्या रहेको भएपनि अन्य कुरामा समस्या नरहेको बताउनु भयो । राईले कारागारमा सिपमुलक काम गर्न पनि सहज रहेको बताउनु भयो । कारागारमा रहेका कैदीवन्दीहरुले मुढा लगायतका बाँसका सामान सामुहिक रुपमा बनाएर बिक्री गर्दै आएको चौकीदार राईले बताउनु भयो ।

कारागारका जेलर सन्दीप न्यौपानेले इन्सेकको अनुगमनले आफूहरुलाई सचेत गराएको र मानवअधिकारमैत्री व्यवहार कारागारभित्र रहेको बताउनु भयो । उहाँले कारागार भित्र महिला कक्षमा एक वटा र पुरुष कक्षमा आठ वटा टेलिभिजन रहेको तथा पुरुष कक्षमा ६ वटा शौचालय तथा महिला कक्षमा एक वटा शौचालय रहेका बताउनु भयो । कारागारमा दरबन्दी रहेपनि करिब दुई वर्षदेखि अहेवको पद भने खाली रहेको छ भने  केही समयदेखि कम्प्युटर अपरेटरको दरवन्दी पनि खाली रहेको जेलर न्यौपानेले बताउनु भयो ।

इन्सेकले जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनुवा कक्षको अनुगमनका क्रममा विगतको भन्दा नयाँ भवनमा सरेको थुनुवा कक्ष निकै सुधार देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा मानवअधिकारमैत्री थुनुवा कक्ष र बन्दीहरुलाई मैत्रीपूर्ण व्यवहार भएको अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रञ्जितकारले नयाँ भवन बनेपछि थुनुवा कक्ष पहिलेको भन्दा राम्रो रहेको बताउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि नागरिक सहायता गर्ने प्रहरी नै खटाएको, अपवादमा बाहेक पूर्ण रुपमा मानवअधिकारमैत्री व्यवहार गरिएको बताउनु भयो ।

कारागारलाई यातनागृहबाट सुधार गृह बनाउने सरकारको नीति अनुसार कारागार र हिरासत कक्षको अवस्था के छ भनेर अनुगमन गरिएको इन्सेक कोशी प्रदेश प्रमुख पोख्रेललेको भनाइ छ । कारागार अनुगमनमा प्रमुख पोख्रेल सहित इन्सेक प्रतिनिधी ईश्वर थापा, पत्रकार सन्तोष सुवेदी, जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रञ्जितकार, डिएसपी हेमन्त भण्डारी क्षेत्री, जिल्ला कारागारका सूचना अधिकारी सुवास भण्डारी लगायतको सहभागिता रहेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमनमा प्रमुख पोख्रेल सहित इन्सेक प्रतिनिधी थापा, पत्रकार सुवेदी, जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जितकार र डिएसपी भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा इन्सेक प्रदेश प्रमुख पोख्रेलले धनकुटा जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नाम, धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, धनकुटा प्रहरी प्रमुख नारायण रञ्जितकार, जिल्ला कारागारका जेलर सन्दीप न्यौपानेलाई उहाँहरुकै कार्यकक्षमा भेट गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६, स्थितीसूचक र इन्सेक डायरी हस्तान्तरण गर्नुभएको थियो ।   

ईश्वर थापा

अन्य

भिडियो