कानुन व्यवसायीले गरेको आन्दोलन बन्द हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले कात्तिक २६ गते चार जना महिला र एक जना पुरुषलाई गिरफ्तार गरेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–१ की ४५ वर्षीया मेनुका दङ्गाल, काठमाडौँ महानगरपालिका–७ का राजेश लिम्बु, काठमाडौँ महानगरपालिका–१३ की इश्वरी भट्टराई, काठमाडौँ महानगरपालिका–१० बुद्धनगरकी ३७ वर्षीया तारा बराल र ४० वर्षीया उषा किराँतलाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा आएर नारा लगाएका उनीहरूले सर्वोच्च अदालतको मुख्य गेट अगाडि धर्ना बसिरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको त्रिपाठीको आरोप छ ।
त्रिपाठीलाई दुर्व्यवहार गरेपछि कानुन व्यवसायी र उक्त समूहबिच झडपको स्थिति आएको र उक्त अवस्थालाई सामान्य बनाउन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।