सिंजा गाउँपालिका नराकोटस्थित भैरव माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का दृष्टि बिहिन विद्यार्थीका लागि ब्रेललिपी पाठ्यपुस्तक नहुँदा पठन पाठनमा समस्या भएको छ ।
कात्तिक तेस्रो सातासम्म पनि बे्रललिपि पाठ्यपुस्तक नआएकोले पठन पाठनमा समस्या भएको कक्षा १२ मा अध्यनरत विद्यार्थी धर्मलाल प्याकुरेलले गुनासो गुर्नभयो ।
अन्य कक्षाको लागि ब्रेललिपी आएपनि कक्षा ११ र १२ को नआएकाले अध्यापनमा समस्या भएको स्रोत शिक्षक दत्तबहादुर बुढाको भनाइ छ ।
उहाँका अनुसार कक्षा ११ को आइनपुगेको र कक्षा १२ को ब्रेललिपि पाठ्य पुस्तक नछापिएको कारण कक्षा ११ मा दुईजना र कक्षा १२ मा दुईजना गरी चार जना विद्यार्थी मर्कामा परेका छन् ।

‘दृष्टि बिहिनको अध्ययनका लागि एक मात्र साहारा हुने ब्रेल पाठय पुस्तक समयमै नआउने समस्या यस वर्ष पनि दोहोरिएको छ’ स्रोत शिक्षक बुढाले दुःखेसो गर्नुभयो ।
लामो समयदेखि नेपाल नेत्रहिन संघ र नेपाल दृष्टि कल्याण संघले पाठ्य पुस्तक छापिरहेको तर, यो वर्ष सरकारले ११ र १२ को पाठ्य पुस्तक छाप्ने कार्यक्रम नराखेको नेपाल नेत्रहिन संघका पूर्व अध्यक्ष नरबहादुर लिम्बुले बताउनुभयो ।
उहाँका अनुसार नेपाल सरकारले कक्षा १० सम्म मात्रै ब्रेल पाठ्य पुस्तक छाप्ने योजना अगाडि बढाएको छ । जसका कारण देशभरीका ११ र १२ कक्षाका विद्यार्थीहरू अन्यौलमा परेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिब्या दवाडीले सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना नबनाएको जानकारी दिनुभयो ।