लेकबेसी नगरपालिका–१ ढापखर्ककी ७ वर्षीया मनिषा सुनारको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले कात्तिक २४ गते तीनजनालाई गिरफ्तार गरेको छ ।
पीडित पक्षले कात्तिक २३ गते आरोपितहरू बिरूद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा दिएको उजुरीका आधारमा लेकबेसी नगरपालिका–१ ढापखर्कका २१ वर्षीय सन्तोष सुनार, सोही ठाउँका १९ वर्षीय बिक्रम सुनार र १५ वर्षीय प्रकाश सुनारलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।
घर नजिकैको पसलमा कात्तिक २१ गते सामान किन्न गएर घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय लेकबेसीमा जानकारी दिएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा कात्तिक २२ गते घरदेखि पाँच सय मिटर उत्तर पूर्व रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको एसपी विष्टले जानकारी दिनुभयो ।
शव पोष्ट मार्टमका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको प्रहरीको भनाइ छ ।