सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा एक वर्षअघि ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् ।
नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो सङ्क्रमणमा नेपालमा पहिलो पटक ०७६ माघ ९ गते पुष्टि भएपछि सरकारले ०७६ चैत ११ गतेदेखि कोभिड नियन्त्रणका लागि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो ।
कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या प्रतिदिन बढिरहेको अवस्थामा आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो ।
प्रदेश १ मा प्रदेशस्तरीय सरूवा रोग अस्पताल र १४ जिल्लामा ८६ ओटा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । ०७७ मङ्सिर १५ गते प्रदेश १ मा ८६ ओटा १ देखि १५ बेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । आधारभूत स्वास्थ्य अधिकारसम्बोधन हुने गरी सरकारले ८६ ओटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन ।
झापामा १२ ओटा, पाँचथर, इलाम, सङ्खुवासभा र ओखलढुङ्गामा सात ओटा, भोजपुर र खोटाङमा ६–६ ओटा, तेहृथुम, सोलखुम्बु र सुनसरीमा पाँच–पाँच ओटा, धनकुटामा चार ओटा र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका आठ ओटा स्थानीय तह मध्ये सिद्धिचरण नगरपालिका बाहेक अन्य सात स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको थियो । तीन ओटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि शिलान्यास भएर निर्माणको अवस्थामा छ । दुई ओटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुन अझै बाँकी छ ।
खिजिदेम्बा गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । चिसङ्खुगढी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको र अगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाकाले जनाएको छ ।
जिल्लाका सबैजसो स्थानीय तहमा अस्पताल निर्माणको प्रगति तीव्र गतिमा हुन सकेको छैन । जिल्लाका धेरै अधिकांश स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया अघि बडाएका छैनन । सुनकोशी गाउँपालिकामा ठेक्का प्रक्रियाबाट आधारभूत अस्पताल निर्माण भइरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रूद्रप्रसाद अधिकारीले बताउनु भयो । ६ करोड १५ लाख रुपियाँको बजेटमा गाउँपालिकाको ५ नम्बर वडाको मुलर्खकमा १० रोपनी जग्गामा अस्पताल निर्माणको काम सुरू भएको बताउनु भयो ।
चिसङ्खुगढी गाउँपालिकामा अस्पताल निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेर अहिले अस्पताल निर्माणको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद दर्जीले बताउनु भयो । ५ करोड २६ लाख रुपियाँको लागतमा निर्माण भइरहेको अस्पताल आगामी चैतसम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
मोलुङ्ग गाउँपालिकामा ३ करोड २० लाख रुपियाँको लगानीमा गाउँपालिकाको वडा–२ रामपुरमा नौ रोपनी जग्गामा अस्पताल निर्माणको लागि शिलान्यास भइसकेको गाउँपालिका अध्यक्ष मणिराज राईले बताउनु भयो ।
लिखु गाउँपालिकामा अस्पताल निर्माणका लागि ठेक्का लागेर शिलान्यास भएपनि काम तीव्र रूपमा अघि बढ्न नसकेको गाउँपालिका उपाध्यक्ष शान्ता ढुङ्गेलले बताउनु भयो । उहाँका अनुसार १२ रोपनीको क्षेत्रफलमा निर्माण भइरहेको अस्पतालको अहिले फाउन्डेसनको काम भएको छ ।
मानेभञ्ज्याङ्ग गाउँपालिकाकामा आधारभूत अस्पताल निर्माणका लागि प्राप्त भएको जग्गामा प्राविधिक स्टमेट अनुसार जग्गा कम भएका कारण अस्पतालको शिलान्यास हुन नसकेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताउनु भयो । जग्गा व्यवस्थापनको लागि पहल भइरहेको उहाँको भनाइ छ ।
खिजिदेम्बा गाउँपालिकाले पाँच बेडको अस्पताल निर्माण सम्पन्न गरेर एक जना डाक्टर र एक जना स्टाफ नर्स राखि सेवा सञ्चालन गरी सकेको गाउँपालिका उपाध्यक्ष शुशीला तामाङले बताउनु भयो ।
चम्पादेवी गाउँपालिकाकामा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएको भएपनि अस्पताल निर्माणको लागि शिलान्यास हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनु भयो । शिलान्यासका लागि आवश्यक समन्वय भइरहेको र तिहारपछि अस्पतालको शिलान्यास गरिने उहाँले बताउनु भयो ।
अस्पताल जतिसक्दो चाडो निर्माण गर्नका लागि आफूहरूले पहल गरीरहेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । जिल्लाको आधारभूत स्वास्थ्य अधिकारको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्थले जानकारी दिनुभयो ।
जिल्लामा हाल ५४ ओटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र तीन ओटा, सामुदायिक स्वाथ्य इकाई २० ओटा, एक ओटा प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र आठ ओटा, सामुदायिक अस्पताल एक ओटा र जिल्ला अस्पताल एक ओटा छन् । जसमध्ये ४४ ओटा स्वास्थ्य संस्थामा ब्रर्थिङ सेन्टर सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी पन्थले बताउनु भयो । पछिल्लो समयमा आधारभूत स्वास्थ्य सेवामा सुधार आएको उहाँको भनाइ छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार फक्ताङलुङ गाउँपालिकामा पाँच शैयाको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि ०७७ मङ्सिर १५ गते नै शिलान्यास गरिएपनि अझैसम्म निर्माण सुरूआत हुन सकेको छैन । जग्गा प्राप्त गरेपनि अस्पतालको डीपीआर बमोजिम उपलब्ध ६ रोपनी जग्गा अस्पताल निर्माण गर्न अपर्याप्त भएकाले ठेक्का खोल्न नसकिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताउनु भयो । अझै दुई रोपनी जति जग्गा थप भएपछि मात्र ठेक्का खोल्ने तयारी छ,अध्यक्ष एभेङले भन्नुभयो । अध्यक्ष एभेङले समुदायले मङ्सिरभित्र मालपोतमा जग्गा रजिष्ट्रेसन पास दिन्छौ भनेका छन् । लगत्तै ठेक्का खोल्छौ ।”
अस्पताल निर्माणका लागि आर्थिक वर्ष ०७७-७८ मा सङ्घीय सरकारमार्फत ७५ लाख रुपियाँ प्राप्त भएको थियो । यद्यपि काम गर्न नसकेकाले सोही रकम चालु वर्षमा उपलब्ध भएको अध्यक्ष एभेङले बताउनु । सरकारले ५ शैयाको अस्पताल निर्माणका लागि७ करोड रुपियाँ उपलब्ध गराउने र तर त्यो भन्दा लागत बढीभए सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था गरेको छ, अध्यक्ष एभेङले भन्नुभयो । उहाँले अस्पतालको डीपीआरमा १२ करोडको स्टिमेट तयार रहेको बताउनु भयो ।
मिक्वाखोला गाउँपालिकाले गत आवमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि ठेक्का स्वीकृत गरेको छ । निर्माण कम्पनी सेवालुङ-पहाडी जेबीले चालु आर्थिक वर्षको साउनदेखि काम सुरू गरेको छ । ९ करोड ८८ लाख रुपियाँ लागत अनुमानमा ठेकेदार कम्पनीले ६ करोड २२ रुपियाँ लाखमा ठेक्का लागेको हो । सङ्घीय सरकारले गत आवमा उपलब्ध गराएको ७० लाख रुपियाँ रकमबाट ठेकेदारलाई पेश्की दिएर काम सुरू गरेको थियो । चालु आवमा सङ्घीय सरकारबाट १ करोड ४७ लाख रुपियाँ बजेटको अख्तियारी आएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरिको अवधिमा सङ्घबाट प्राप्त हुने बजेटले अपुग भए स्थानीय तहले व्यहोर्ने छ ।
मिक्वाखोला गाउँपालिकाका सव इन्जिनियर गजेन्द्र थुलङले सङ्घीय सरकारबाट वार्षिक २ करोड रुपियाँको दरले रकम प्राप्त भए अस्पताल निर्माण हुने बताउनु भयो । गाउँपालिकाले नै ७ लाख रुयियाँ खर्चेर डीपीआर तयार गरेको थियो । अस्पताल निर्माणका लागि साढे ७ रोपनी जग्गा स्थानीयले नै निशुल्क दिएका छन् । गत असारमा अस्पतालको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष रामकुमार साँवाले बताउनु भयो ।
आठराई त्रिवेणी गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणको ठेक्का सम्झौता आर्थिक वर्ष ०७८-७९ मा भएको छ । स्थानीयले निशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा अस्पताल बन्ने भएको हो । आर्थिक वर्ष ०७७-७८ मा उपलब्ध ७५ लाख रुपियाँ मध्ये करिब ११ लाख रुपियाँ खर्चेर डीपीआर तयार गरिएको छ । आधारभूत अस्पताल निर्माणका लागि १० करोड रुपियाँमा ठेक्का लागेको छ । चालु आवदेखि काम सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।
सिरीजङ्गा गाउँपालिकाले १० शैयाको आधारभूत अस्पताल निर्माण सुरु गरेको छ । १५ करोड ८५ लाख रुपियाँ लागत अनुमान गरी आर्थिक वर्ष ०७७-७८ मा ठेक्का स्वीकृत भएको छ । वहुवर्षीय ठेक्का भएकाले तीन वर्षभित्रमा सम्पन्न गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।
घिमिरेका अनुसार सङ्घीय सरकारले १० करोड ८६ लाख रुपियाँ उपलब्ध गराउने भएको छ । सङ्घले उपलब्ध गराउने भनेको भन्दा करिब ५ करोड रुपियाँ बढीको लागत अनुमान थियो । तर लागत अनुमानभन्दा ३१ प्रतिशत कममा ठेक्का लागेकाले पालिकालाई सहज भएको छ ।” अस्पतालका लागि १३ रोपनी जग्गा स्थानीयले निशुल्क जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन् ।
सिदिङ्मा गाउँपालिकाले पाँच शैयाको अस्पताल निर्माणका लागि ०७८-७९ मा मात्र जग्गा टुङ्गो लगाएको छ । गाउँपालिका केन्द्र साब्लाखुनजिक स्वास्थ्य चौकीको पाँच रोपनी जग्गामा थप एक रोपनी जग्गा खरिद गरेर टुङ्गो लगाएको गाउँपालिकाले जनाएको छ । थप गरिएको एक् रोपनी जग्गाको केही रकम दिनुपर्ने भएकाले मालपोत कार्यालयमा रजिष्ट्रेशन पास गर्न बाँकी छ । अस्पतालको डीपीआर तयार गरिएको छ । तिहार लगत्तै अस्पतालको ठेक्का आव्हान गर्ने गाउँपालिका उपाध्यक्ष जीवन कुमार ताम्लिङले बताउनु भयो ।
पाथीभरायाङवरक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालका निर्माणका लागि नौ रोपनी जग्गा छ । ९ रोपनीमध्ये ६ लाख रुपियाँँमात्र खरिदमा खर्च भएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनु भयो । डीपीआर १७ करोड रुपियाँमा तयारी भएकाले उक्त डीपीआर मन्त्रालयको मापदण्ड बमोजिम छ वा छैन भनेर मन्त्रालयबाट स्वीकृत गराउने भएको छ । सरकारले १० शैयाको लागि १० करोड रुपियाँ हाराहारी मात्र बजेट दिने र बाँकी स्थानीय तहले नै व्यर्होनु पर्ने भएकाले स्थानीय तहमा स्रोत अभाव छ । यद्यपि लागत अनुमान बमोजिमको रकममा ठेक्का आव्हानपश्चात स्वीकृत ठेक्का रकम अनुसार स्थानीय तहले स्रोत व्यवस्थापनमा जुट्ने अध्यक्ष मेन्याङबोले बताउनु भयो ।
मैवाखोला गाउँपालिकाले १० शैयाको अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । गाउँपालिका केन्द्र साँघुस्थित पुरानै संरचना भएको जग्गामा अस्पताल निर्माण गर्ने भएको छ । वडा–३ का वडाध्यक्ष थर्ककुमार चोङवाङले १८ करोड ५३ लाख रुपियाँको लागत अनुमान भएको बताउनु भयो । ठेकेदार कम्पनीले १३ करोड ३ लाख रुपियाँमा गत असार २५ गते सम्झौता गरेको चोङबाङले बताउनु भयो । चोङवाङले काम सुरु नभएको तर ठेकेदारले हिउँददेखि काम सुरु गर्ने भएको बताउनु भयो ।
मेरिङदेन गाउँपालिकामा भने गत आर्थिक वर्षमा कार्यक्रम सञ्चालन नभएको प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनु भयो । ०७८-७९ को नीति तथा कार्यक्रममा अस्पताल निर्माण समावेश गरेकाले जग्गा व्यवस्थापनमा जुटेको प्रसाकीय अधिकृत आङदेम्बेको भनाइ छ । गाउँपालिका केन्द्र सान्थाक्रानजिक ३५ रोपनी जग्गा स्थानीय तहले व्यवस्थापन गर्ने तयारी गरेको छ । जिल्ला अस्पताललाई १५ बेडबाट ५० बेडको बनाउने तयारी गरिएको छ ।
मोरङ प्रतिनिधि अर्जुन दर्जीका अनुसार जिल्लामा पाँच ओटा गाउँपालिका र पाँच ओटा नगरपालिकामा आधारभुत स्वास्थ्य अस्पतालको शिलान्यास गरिएको भएपनि निर्माणको अवस्था भने अलपत्र छ ।
बुढीगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव रेग्मीले बुढीगङ्गा गाउँपालिका–३ मा १० बेडको आभारभूत अस्पतालको निर्माणका लागि हालसम्म डीपीआर मात्र भएको बताउनु भयो । ०७८ कात्तिकमा आएको वर्षातकोे कारण निर्माण कार्यमा समस्या भएको स्वास्थ्य शाखा संयोजक रेग्मीको भनाइ छ ।
मिक्लाजुङ्ग गाउँपालिकामा–४ मा १५ बेडको आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरी हाल ग्यापिङ्ग भर्ने काम मात्र सम्पन्न भएको भएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद निरौलाले बताउनु भयो । उहाँले एक वर्ष अघि शिलान्यास गरिएको भएपनि समयमा काम अघि बढाउन नसकिएको र हालसालै आएको बाढीका कारण निर्माणमा समस्या भएको बताउनु भयो ।
केरावारी गाउँपालिका–२ मा १० बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि वेशलाइनको काम भएपनि सङ्घीय सरकारले पठाउनु पर्ने १ करोड रुपियाँ निकासा नगर्दा निर्माण कार्य अलपत्र अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौँलागाईले बताउनु भयो ।
कानेपोखरी गाउँपालिकाले आधारभूत स्वास्थ्य अस्पातल निर्माणका लागि ०७८ साउनमा मात्र टेण्डर प्रक्रिया अघि बढाएको स्वास्थ्य शाखा प्रमुख उदयकान्त श्रेष्ठले बताउनु भयो । गत मङ्सिरमा शिलान्यास भएर हालसम्म निर्माण सम्पन्न हुनु पर्नेमा भर्खरै मात्र टेण्डर भएकाले निर्माण अलपत्र अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमु्ख श्रेष्ठको भनाइ छ ।
ग्रामथान गाउँपालिकाका सूचना अधिकारी नारायण चौधरीले गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि गत मङ्सिरमा शिलान्यास गरिएको भएपनि हालसम्म टेण्डरको प्रक्रियासमेत अघि बढ्न नसकेको बताउनु भयो । गाउँपालिकाले अस्पताल निर्माणका लागि मन्त्रालयले पत्र लेखेको भएपनि स्वास्थ्य मन्त्रालयबाट जबाफ नआएकाले निर्माणको काम अलपत्र अवस्थामा रहेको बताउनु भयो ।
पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले १५ बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि १८ करोड रुपियाँ लागतमा निर्माण हुने गरी अस्पतालको शिलान्यास गरिएको भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसकेको बताउनु भयो ।
लेटाङ्ग नगरपालिका–४ र ५ वडाको बिचमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि भर्खरै मात्र डीपीआर भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिनेशकुमार चौधरीले बताउनु भयो । उहाँले मन्त्रालयले बजेट निकासा नगर्दा निर्माणको काम अलपत्र अवस्थामा रहेको जनस्वास्थ्य अधिकृत चौधरीको भनाइ छ ।
बेलबारी नगरपालिका–४ मा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अस्पताल निर्माण हुने जग्गामा विद्युत ट्रान्समिटर सार्न ढिलाइ भएकाले अस्पताल निर्माणको काम ढिला भएको नगरपालिका कार्यालयले जनाएको छ ।
रतुवामाई नगरपालिकामा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास भएपनि जग्गाको सुनिश्चिता नभएपछी बजेट फिर्ता गएको प्रशासकीय अधिकृत दिननाथ लम्सालले बताउनु भयो ।
सुन्दरहरैँचा नगरपालिकामा जग्गा प्राप्तिमा समस्या भएपछि योजना फिर्ता भएको जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतले बताउनु भएको छ ।
जिल्लामा दुई ओटा जिल्ला अस्पताल, सात ओटा प्रथामिक स्वास्थ्य केन्द्र, १० ओटा स्वास्थ्य चौकी, ४९ ओटा उपस्वास्थ्य चौकी र दुई ओटा आर्युेवेद औषधालय छन् ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरेको भएपनि जिल्लामा कामको प्रगति भने न्यून छ ।
अधिकांश अस्पताल निर्माणको काम शिलान्यासमै सिमित भएका छन् । भोजपुरका नौ ओटा स्थानीय तह मध्ये सात ओटा स्थानीय तहमा पाँच देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको छ । सङ्घीय सरकारले सहजरूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माण कार्यमा ढिलाई हुँदा दुर्गम क्षेत्रका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।
पौवादुङमा गाउँपालिका, अरूण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँच देखि १५ बेडको अस्पताल शिलान्यास गरिएको छ । सात ओटा मध्ये पाँच ओटा अस्पतालको टेण्डर प्रक्रिया सम्पन्न भएर निर्माण सुरूआत भएको छ । अरूण गाउँपालिकाले ०७८ कात्तिक १४ गते टेण्डर खुलाउने जनाएको छ, । रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अस्थामा रहेको जानकारी दिएको छ ।
पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । ०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजार रुपियाँमा टेण्डर लागेको अस्पताल पाँच बेडको निमार्ण हुने प्रशासकीय अधिकृत रामेश राईले बताउनु भयो । हाल फाउन्डेसन खन्ने काम भएको छ ।
साल्पासिलिछो गाउँपालिकामा ६ करोड ६५ लाख रुपियाँ लागतमा पाँच बेडको अस्पताल निर्माणको लागि ०७८ असार महिनामा टेण्डर प्रक्रियाबाट काम सुरू भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनु भयो । वर्षातका कारण सामान ढुवानी गर्न यातायातको समस्या हुँदा काममा ढिलाई भएको अध्यक्ष राईले बताउनु भयो । बाटो राम्रो भएपछि कामले गति लिने अध्यक्ष राईको भनाइ छ ।
आमचोक गाउँपालिकामा १२ करोड ५० लाख रुपियाँ लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि ०७८ वैशाखमा टेण्डर प्रक्रिया सम्पन्न भएको छ । भवनको डीपीआर तयार गर्दा केही ढिलाई भएको भए पनि समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई तागेता गर्ने गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो । केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणका लागि निर्देशन दिएको भए पनि गाउँपालिकाका स्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० बेडको अस्पताल निर्माणको काम शुरू गरिएको अध्यक्ष राईले बताउनु भयो ।
हतुवागढी गाउँपालिकामा १६ करोड रुपियाँ लागतमा ०७८ असार महिनामा टेण्डर प्रक्रियामार्फत १५ बेडको अस्पताल निमार्णको काम शुरू गरिएको छ । सङ्घीय सरकारको एक स्थानीय तह एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रममा रहेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनु भयो । अस्पताल निर्माण पश्चात आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने अध्यक्ष राईको भनाइ छ ।
रामप्रसादराई गाउँपालिकाले भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताउनु भयो । राईले भन्नु भयो ‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यक पर्ने रहेछ । हामीले भर्खर जग्गा टुङ्गो लगाएका छौँ । अब चाँडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरू हुन्छ ।’
षडानन्द नगरपालिकामा यसअघि नै १५ बेडको गान्दी मेमोरियल अस्पताल निर्माण भएकाले त्यसैबाट नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया अघि नबढाएको मेयर वीरवल राईले बताउनु भयो । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताउनु भयो ।
जिल्लामा ६६ ओटा स्वास्थ्य चौकी, ११ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र , तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन ओटा सहरी स्वास्थ केन्द्र, सात ओटा, सात ओटा सामुदायिक स्वास्थ्य एकाई र एक ओटा जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताउनु भयो । स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि सङ्घीय सरकारले हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख थापाले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा सात ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि शिलान्यास भएको बर्ष दिन पुग्न लाग्दासमेत निर्माणको सुरसार छैन । स्थानीय उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता उस्तै छ ।
स्थानीय सरकारको ढिलासुस्तीका कारण आधारभूत अस्पताल निर्माण ढिलाई भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाहृकोटीले बताउनु भयो । स्थानीय सरकार र सरोकारवाला निकायको बेवास्ताका कारण आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिलाई भएको प्रमुख बाहृकोटीको भनाइ छ । उहाँले केही स्थानीय तहमा जग्गा प्राप्त गर्न समेत समस्या भएको बताउनु भयो ।
सङ्घीय सरकारको नीति अनुसार एकै पटक शिलान्यास भएका आधारभूत अस्पताल निर्माण ढिलाइ भएको जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताउनु भयो । यस वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी सबै स्थानीय तहसँग समन्वय गर्ने प्रमुख शाक्यले बताउनु भयो ।
पाँचखपन नगरपालिकाले १० बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि जग्गा खरिद गरी प्रक्रिया अघि बढाएको मेयर विपिन राईले बताउनु भयो । पाँचखपन नगरपालिका–१० वानामा ११ लाख रुपियाँ जग्गा खरिद गरेर निर्माणका लागि डीपीआर तयारी भई टेण्डर भएको मेयर राईले बताउनु भयो । निर्माण कार्य सम्पन्न गर्ने समय भइ सक्दा भर्खर जग खन्न थालिएको मेयर राईले बताउनु भयो । तिहार लगत्तै निर्माण कार्य थालिने उहाँको भनाइ छ ।
धर्मदेवी नगरपालिकामा पाँच बेडको अस्पताल निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको मेयर रमेशकुमार जिमीले बताउनु भयो । आधारभूत अस्पताल निर्माणका लागि डीपीआर निर्माण भइसकेको मेयर जिमीले बताउनु भयो ।
चैनपुर नगरपालिकाले १५ बेडका आधारभूत अस्पताल निर्माणका लागि ढिला गरी जग्गा प्राप्त गर्दा समयमा निर्माण कार्य अघि बढाउन नसकिएको मेयर भरतकुमार खत्रीले बताउनु भयो । जग्गा प्राप्तिमा ढिला भएका कारण भर्खरै डीपीआर तयार गरी निर्माण कार्य अघि बढाएको मेयर खत्रीको भनाइ छ ।
मादी नगरपालिकाले ढिला गरी जग्गा प्राप्त गरेका कारण १५ बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिलाइ भएको मेयर विदुरसुब्बा लिङ्थेपले बताउनु भयो । समयमा जग्गा प्राप्ति र डीपीआरको काम अघि बढाउन नसक्दा आधारभूत स्वास्थ्य अस्पताल निर्माणले गति लिन नसकेको मेयर लिङ्थेपले बताउनु् भयो ।
पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि चिचिला गाउँपालिकाले ढिला गरी जग्गा प्राप्त गरेका कारण समयमा काम अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताउनु भयो । जग्गा प्राप्तिका लागि केही ढिला भएका कारण अस्पताल निर्माण गर्न ढिलाई भएको अध्यक्ष शेर्पाको भनाइ छ । ०७८ असोजबाट मात्र निर्माण कार्य थालनी भएको भएको छ ।
सभापोखरी गाउँपालिकामा पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि ढिला गरी निशुल्क जग्गा प्राप्त भएकाले ०७८ कात्तिकबाट निर्माण काम अघि बढाउने गाउँपालिका उपाध्यक्ष सीता दहालले बताउनु भयो । गाउँपालिकाले टेण्डर प्रक्रिया पुरा गरेर तिहार पछिबाट निर्माण कार्य थालनी हुने उपाध्यक्ष दहालको भनाइ छ ।
भोटखोला गाउँपालिकाले पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि ढिला गरी निशुल्क जग्गा प्राप्त गरेकाले समयमा निर्माणकार्य अघि बढाउन नसकिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताउनु भयो । अस्पताल निर्माणका लागि डीपीआर गरेर टेण्डरको तयारीमा रहेको अध्यक्ष भोटेको भनाइ छ ।
जिल्लामा जिल्ला अस्पताल एक ओटा,प्राथमिक स्वास्थ्य केन्द्र चार ओटा, स्वास्थ्य केन्द्र ३४ ओटा,सामुदायिक स्वास्थ्य इकाई २८ ओटा, आधारभूत स्वास्थ्य केन्द्र २९ ओटा, शहरी स्वास्थ्य केन्द्र १२ ओटा छन् ।