INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकीमा चेकजाँच मात्र हुने गरेको र औषधि किन्न भने निजी अस्पतालमा जानु पर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिका–१ कोल्टिका स्थानीय हिक्मत ओडले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै चेकजाँच मात्रै हुने गरेको छ । औषधि निजी अस्पतालमा महङ्गोमा किन्नु परेको छ ।’

चार दिनदेखि ज्वरो आउने, टाउँको दुख्ने र खोकी लाग्ने गरेपछि दुई घण्टा हिडेर उपचारका लागि देबलसेन स्वास्थ्य चौकीमा गएको भएपनि स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि किन्न निजी अस्पतालमा जानुस भनेर पठाएको बुढीगंगा नगरपालिका–९ का स्थानीय काले नेपालीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर गए । औषधि नभएको भन्दै निजी अस्पतालमा पठाए । तर, औषधि किन्न नसकेपछि तित्तै घर फर्किए ।’

बाजुरा जिल्लाको छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि उपचार तथा औषधि किन्नका लागि दुई दिन हिडेर कोल्टिस्थित निजी अस्पतालमा धाउने गरेको स्थानीय धनजित रोकायाले बताउनु भयो ।

नेपाल सरकारले स्वास्थ्य चौकीमा ४० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र जिल्ला अस्पतालमा ७० प्रकारका औषधिहरु निःशुल्क दिने गरेको भएपनि अहिले अधिकांश औषधिहरुको अभाव रहेकोले स्थानीयहरुले समस्या झेल्नु परेकोे जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।

जिल्लामा अक्सोटमी, एन्टीभाईटीक, एन्डमोण्डझोल जिवनजल लगायतका अत्यावस्यक औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख पन्तले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अक्सोटमी औषधि गर्भवतीहरुलाई बेथा लगाउन प्रयोग हुने औषधि हो । तर, स्वास्थ्य कार्यालयमा मौज्दात छैन । स्वास्थ्य सस्थाहरुले माग गरेपछि समस्य भएको छ । औषधिको अभावमा गर्भवतीहरुलाई थप समस्या उत्पन्न हुने देखिएको छ । संघले खरिद पठाउँदै गरेको औषधि अहिले प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवारी दिएको छ । वर्षातका कारण प्रदेश सरकारले खरिद गरी पठाउनु पर्ने औषधि नपठाएकोले समस्या भएको हो ।’

नेपाल सरकारले दिने निःशुल्क औषधिहरु जिल्ला स्वास्थ्य कार्यालयमा चारदेखि ६ महिनाको लागि र स्वास्थ्य संस्थामा एक महिनाको लागि मौज्दात हुनु पर्ने व्यवस्था भएपनि अहिले जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थाहरुमा शून्य मौज्दात रहेको छ ।

हिमाली गाउँपालिका निमित्त कार्यकारी अधिकृत्त राजबहादुर भण्डारीले गत जेठ महिनादेखि  जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नआएको भएपनि स्थानीह तहबाटै व्यवस्थापन भइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जिल्ला स्वास्थ्य कार्यालयले पनि औषधि पठाउनु पर्ने हो । तर, पाँच महिनादेखि जिल्लाबाट औषधि प्राप्त भएको छैन् । अहिलेसम्म त जेनतेन पालिकाले बिनियोजन गरेको बजेटले औषधि खरिद गरेर समस्या समाधान भएको छ । तर, जिल्लाबाट औषधि नपाउँदा अबका दिनमा औषधिको थप अभाव हुने देखिएको छ ।’

बुढीगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहले गत असारदेखि संघ र प्रदेश सरकारले पठाउनु पर्ने औषधि नपठाएको र नगरपालिकाले मात्रै खरिद गरेको औषधिले मात्रै बिरामीहरुलाई नपुग्ने भएकोले समस्या उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘बाढीपहिरोका कारण नगरपालिकाले औषधि खरिद प्रक्रिया अगाडी बढाउन सकेन । केही दिन भित्रै औषधि खरिद प्रक्रिया आगडी बढाउँछौँ । केही दिनमा सेवाग्राहीहरुले औषधि पाउछन् ।’

गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले गाउँपालिकाले औषधि खरिद गर्नका लागि टेण्डर प्रक्रिया अगाडी बढाएको र केही दिनमा औषधि खरिद गरेर समस्या समाधान गर्ने बताउनु भयो ।

अन्य

भिडियो