कोभिड–१९ महामारीका क्रममा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरूले आर्थिक, सामाजिक तथा भौतिकरूपमा दुर्व्यवहार खेप्नु परेको गुनासो गरेका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक १२ गते घोराहीमा आयोजित कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकहरुको अवस्था, चुनौती र सङ्रक्षण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानव अधिकार रक्षकहरूले उक्त गुनासो गरेका हुन् ।
मानव अधिकार रक्षकहरूले चौतर्फी दुर्व्यवहार, अपहेलना भएपनि महामारी नियन्त्रणमा योगदान गरेको बताएका थिए । स्वास्थ्यकर्मीहरू डेराबाट निकालिनु परेको, हिड्डुल गर्दा दुर्व्यवहार गरेको, जोखिम भत्ता नपाएको गुनासो गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै मानव अधिकार रक्षकहरूलाई दुर्व्यवहार भएको बताउनु भयो ।
महामारीको समयमा नागरिकहरूको जीवन जोगाउन खटिनेहरूलाई सम्मान गर्नुको साटो भेदभावपूर्ण व्यवहार हुनु निन्दनीय कार्य भएको भन्दै नेपालीले एक अर्काको कामलाई सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जनप्रतिनिधिहरूबाटै गाली गलौज, गर्ने काम भएको भन्दै आफ्नो जिम्मेवारीलाई बिर्सिन नहुने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत टंक गौतमले महामारी नियन्त्रणमा मानव अधिककार रक्षकहरूको भूमिका अतुलनीय रहेको भन्दै सेवा सुविधालाई सहज बनाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले कोभिडकै कारण प्रहरीले ज्यान गुमाएको स्मरण गर्दै उचित व्यवहार, सुविधा र सम्मानको खाँचो औल्याउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख भोला महतले इन्सेकले महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई गरिएको दर्व्यवहारका सम्बन्धमा प्रतिवेदन तयार गरेर सुरक्षा, सङ्क्षणका बारेमा खबरदारी गरिरहेको बताउनु भयो । प्रमुख महतले कोभिडबाट मृत्यु भएकाहरूको तथ्याङ्क लिने र कोभिड सङ्क्रमितहरूले विमा पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै कानुनी उपचार खोज्ने तयारीमा रहेको बताउनु भयो ।
