गोदावरी नगरपालिका–१३ की २७ वर्षीया मुना मगरलाई आगो लगाएर घाइते बनाएको आरोपमा २८ वर्षीय पति राजु देसारलाई कात्तिक ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
कात्तिक ११ गते बिहान साढे ५ बजेतिर पतिले आगो लगाएर जलेको अवस्थामा बचाऊ–बचाऊ भन्दै चिच्याउँदै सडकमा आएको अवस्थामा तत्कालै उद्धार गरी प्रहरीको गाडीमा नख्खुस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
मेडिसिटीमा उपचार नहुने भएपछि कीर्तिपुर अस्पताल रिफर गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । पीडामा रहेकी मुनाले आफूमाथि पतिले आगो लगाएको बताएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनु भयो ।
अस्पतालका अनुसार मुनाको शरीर ४० प्रतिशत जलेको छ । बोल्न सक्ने भए पनि मुनाको अवस्था गम्भीर रहेको छ ।
घटना बारे खबर गरेपछि मुनाका माइती पक्षले कात्तिक १२ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी गरेको प्रहरीले जनाएको छ ।