घाँस काट्ने क्रममा बम विष्फोटनमा परी घाइते भएका गुराँस गाउँपालिका–६ दैलेखका १५ वर्षीय नरेश नेपालीको दाहिने आखाँको ज्योति गुमेको घटना प्रति बिहिवार सरोकारवाला निकायले ध्यानाकर्षण भएको जनाएका छन् ।
इन्सेकलगायत अधिकारकर्मीले कात्तिक ११ गते संयुक्त विज्ञप्ति जारी गर्दै पीडितको निशुःल्क उपचार, अध्ययन र क्षतिपूर्तिको लागि सरकारसँग अनुरोध समेत गरेका छन् ।
इन्सेक कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, जिल्ला अदालत वार एसोशियन सुर्खेत, गैरसरकारी संस्था महासंघ सुर्खेत, दलित महिलासंघ सुर्खेत, वाम सुर्खेत, आवाज सुर्खेतद्वारा जारी विज्ञप्तिमा तत्कालिन नेकपा माओवादी र सरकारबिच शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दा पनि विष्फोटक पदार्थबाट सर्वसाधारणको अङ्गभङ्ग हुनु दुःखद भएको उलेख छ ।
सुर्खेतको वीरेन्द्रनगर–कटकुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा कात्तिक ६ गते बम विष्फोटनमा घाइते नरेशको देउती अस्पतालमा उपचार भइरहेको छ भने, उनकी २१ वर्षीया दिदी लीला नेपाली सामान्य उपचारपछि घर फर्किएकी छन् ।
घाइते दुवैको उपचारमा सरकारी निकायद्वारा सहयोग नगरिनुले जिम्मेवारीबाट पन्छिन खोजेको देखिएको भन्दै घाइतेलाई मनोसामाजिक परामर्श दिन पनि स्थानीय तह, प्रदेश र सङघीय सरकारलाई अनुरोध गरेका छन् ।
साथै, अधिकारकर्मीले यो घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सबैमा सावधानी अपनाउन आग्रह छ ।
पीडितहरू दुवैजना वीरेन्द्रनगर–७ स्थित भाडामा बस्दै आएका छन् ।
