जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका ३० वर्षीय राजकुमार सदाले आफूलाई वडा प्रहरी कार्यालय मुजेलियाका सई चन्द्र सिंहलगायत पाँच/सात जनाले कात्तिक २ गते राति ९ बजे गिरफ्तार गरी कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरिदिन इन्सेक धनुषा प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग जनकपुरलाई कात्तिक ४ गते आग्रह गर्नु भएको छ ।
राजकुमार सदा र छिमेकी रामहृदय यादवबिच कात्तिक २ गते बेलुका आर्थिक लेनदेनबारे सामान्य विवाद भएको थियो ।
विवाद भएको आरोपमा रामहृदय यादवसँग मिलेर वडा प्रहरी कार्यालय मुजेलियाले राजकुमार सदालाई प्रहरी चौकीमा लगेर निर्घात रुपमा पाइपले कुटपिट गरेको पीडितका भाइ विजय सदाले आरोप लगाउनु भएको छ ।
पीडितलाई कात्तिक २ गते राति नै प्रहरीले छोडेपछि कुटपिटबाट घाइते भएका राजकुमार सदाको उपचार समर हस्पिटलमा गरिएको विजय सदाले बताउनुभयो ।