अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा कैदीबन्दीका आफन्तजनले असोज १९ गते मोरङ कारागार अगाडि विरोध प्रर्दशन गर्नुका साथै धर्ना दिएका छन् ।
धर्नाका कारण कारागार परिसर दिन भरजसो तनावग्रस्त भएको छ । कैदीबन्दीका आफन्तले कारागार अघि धर्ना र विरोध प्रर्दशन गर्दा हुलाकी राजमार्गमा आवागमनमा समेत वाधा पुगेको छ ।
अपहरण मुद्दामा सजाय भुक्तान गरिरहेका गिरीलाई डिल्लीबजार कारागारबाट कारागार व्यवस्थापन विभागले मोरङ कारागारमा ल्याइ चौकीदार नियुक्त गर्न लागेको भन्दै मोरङ कारागारभित्र रहेका कैदीबन्दीका आफन्तले असोज १९ गते कारागार अगाडि धर्ना दिनुका साथै घेराऊ गरेका हुन् ।
मोरङ कारागारमा रहँदा अभिषेक गिरीले कारागारभित्र कैदीबन्दीलाई यातना दिनुका साथै चन्दा असुलेको कैदीबन्दीले गुनासो गरेपछि मोरङ कारागारले ०७४ चैत २३ गते डिल्लीबजार कारागार सरूवा गरिएका गिरीलाई पुन मोरङ कारागारमा ल्याउने तयारी भएपछि कैदीबन्दीका आफन्तले विरोध गर्नु परेको विराटनगर महानगरपालिका–६ का ३० वर्षीय अमर पासवानले बताउनु भयो ।
पासवानले आफू चार वर्ष अघि लागू औषध मुद्दामा कारागारभित्र रहेको र सो अवस्थामा अभिषेक गिरीले यातना दिने गरेको आफू भुक्तभोगी भएको बताउनु भयो ।
उहाँले आफू कैद भुक्तान गरी बाहिर आएको र हाल कारागारभित्र लागू औषध मुद्दामा भाइ र भिनाजु रहेकाले अभिषेक गिरीले सबैलाई दुख दिने थाहा भएकाले मोरङ कारागारमा गिरीलाई ल्याउने तयारीको विरोध गर्नु परेको बताउनु भयो ।
मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दाका दोषी नविन राई विगत ३ वर्ष देखि चौकीदारको रूपमा कार्यरत थिए । कारागार व्यवस्थापन पक्षले असोज १८ गते राईलाई कारागारबाट सरूवा गरी झुम्का कारागार सुनसरी पुर्याएको छ । राईले मोरङ कारागारबाट सरूवा हुन आनाकानी गरेपछि कारागार प्रशासनले सयौँको सङ्ख्यामा प्रहरी परिचानल गरी असोज १८ गते साँझ प्रहरीको स्कर्टिङमा राईलाई झुम्का कारागार पुर्याएको छ ।
मोरङ कारागारमा रहँदा गिरीले कैदीबन्दीलाई यातना दिने र कैदीबन्दीको सुरक्षा व्यवस्थामा खलबल पुर्याउने भएकाले गिरीलाई मोरङ कारागारमा ल्याउन नहुने धर्नामा संलग्न सर्वसाधारण जहदा गाउँपालिका–४ का जोगेन्द्र मुखियाले बताउनु भयो ।
एउटा कारागारबाट स्थानान्तरण भइसकेका कैदीलाई पुनः सोही स्थानमा सरुवा गर्न मिल्ने कानुनी व्यवस्था छैन् । तर गिरीलाई कानुनी व्यवस्था र अभ्यासविपरीत निर्णय गरी पुनः मोरङ कारागार ल्याउन लागिएको धर्नामा सहभागी सर्वसाधारणको भनाइ छ ।
कारागार व्यवस्थापन विभागबाट भदौ १७ गते गिरीलाई पुनः मोरङ कारागार सरूवा गरिने पत्र प्राप्त भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा गिरीलाई नल्याउनलाई पहल गर्न आग्रह गर्दै कैदीबन्दीका आफन्तले असोज १८ गते निवेदन दिएका थिए ।
कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, महिनामारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने, टेलिफोनमा महङ्गो मूल्य लिने तथा बाहिर फिरौती असुलीको धन्दा चलाउने गरेको पाइएपछि गिरीलाई सरुवा गरेर डिल्ली बजार स्थानान्तरण गरिएको मोरङ कारागार प्रशासनले जनाएको छ ।





