INSEC Online

📅 २०८३ जेष्ठ २१

बजार अनुगमन नहुँदा खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन् ।

चाडपर्व नजिकिएसँगै उद्योगी–व्यापारीले खाद्य वस्तु लगायतका हरेक सामग्रीको आफूखुसी मूल्य निर्धारण गर्दा सरकार र उपभोक्ताको अधिकारको क्षेत्र हेर्ने उद्योग तथा वाणिज्य संघ र उपभोक्ता हित समितिले चासो नदेखाएको उपभोक्ताले गुनासो गरिरहेका छन् ।

धनकुटा नगरपालिका–७ चुवाको बोट चोक बसेर कलेज पढ्ने अस्मिता दाहाल दैनिक धनकुटाको सब्जी लाइनमा तरकारी बजारमा तरकारी किन्न जाने गर्नु हुन्छ ।

घरबाट मासिक रुपमा परिवारले पठाएको सीमित पैसामा धनकुटाको कोठाभाडा, कलेज फि र आफ्नो खर्चको व्यवस्थापन गर्ने उहाँ एक महिनामा तरकारी र खाद्यान्नमा भएको मूल्यवृद्धिले गर्दा खर्च व्यवस्थापन गर्नै कठिन हुन लागेको बताउनु हुन्छ ।

धनकुटा नपा–५ माथिल्लो कोप्चे बस्तीमा डेरा गरेर बस्ने मोहन तामाङ पनि अस्मिता जस्तै तनावमा हुनुहुन्छ । तामाङले भन्नु भयो–‘कोभिडले गर्दा लामो समय काम पाइएन । हप्तौँ एक छाक खाएर सुतेँ । झन् आजकल बजारमा तरकारी र खाद्यान्नको मुल्यवृद्धि हुँदा हामीजस्ता दिनभर काम गरेर बेलुकी आफ्नो छाक टार्ने मजदुर भोकै सुत्ने अवस्था आयो ।’

अस्मिता, कोपिला र मोहन त उदाहरण पात्र मात्र हुन् । यसको असर आम उपभोक्तामा परेको छ । बजारमा पछिल्लो एक महिनाको अन्तरमा दाल, चामल, गेडागुडी फलफूल, तरकारी तथा तेल र घिउमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपियाँसम्म मूल्यवृद्धि भएको छ ।

चालू आर्थिक वर्ष सुरु भएयता नै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँले बढेको छ भने बजारमा चिनीको पनि अभाव देखिन थालेसँगै खुद्रा पसलेले उपभोक्ताबाट प्रतिकिलो ५ रुपियाँदेखि १० रुपियाँसम्म अतिरिक्त लिन थालेका छन् ।

धनकुटाको सब्जी लाइनमा फलफूल तथा तरकारी विक्रेता समितिका अनुसार एक महिनाको अन्तरमा सबैजसो तरकारीको मूल्यवृद्धि भएको छ ।

समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यही भदौमा काउलीको मूल्य प्रतिकिलो ४० रुपियाँ रहेकोमा असोजको पहिलो साता ८० रुपियाँ, टमाटर २५ रुपियाँ रहेकोमा ५० रुपियाँ पुगेको हो । यहाँ विक्री हुने हरेक तरकारीको मुल्य दोब्बर भएको छ ।

यस्तै चामल, दाल, चना, मटर, पीठो, आँटालगायतमा पनि प्रतिकेजी १० रुपियाँदेखि ५० रुपियाँसम्म मूल्यवृद्धि भएको धनकुटाका व्यापारी ज्ञानेन्द्र बस्नेत बताउनु हुन्छ ।

विगतका दशैँ र तिहारका बेला उद्योग वाणिज्य सङ्घ, घरेलु कार्यालय, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अनुगमनमा जाने गर्दथे ।

तर, यो वर्ष जिल्लाका अधिकांश स्थानीय तहले बजार अनुगमनतर्पm चासो नदिँदा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ लगायतका वस्तु निर्वाध रूपमा विक्री वितरण हुने गरेको छ ।

बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिएपनि हालसम्म धनकुटाका प्रभावकारी भएको छैन । जिल्लाका सात ओटै स्थानीय तहले अनुमगनको लागि दशैं पर्खिएको भान हुने नागरिक अगुवाको आरोप छ ।

स्थानीय तहले बजार अनुगमन निर्देशिका बनाएपनि कागजी रूपमा मात्र सीमित छ । वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नविकरण, आपुर्ति, मुल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरिनु पर्ने व्यवस्था छ ।

धनकुटा नगरपालिकाले स्थानीय राजपत्रमार्फत तीन वर्ष पहिले नै बजार अनुगमन निर्देशिका–२०७५ जारी गरेको छ । तर, निर्देशिका कार्यान्वयन भएको छैन ।

उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समितिसमेत गठन गरिएको नगरपालिकाले जनाएको छ । तर,समिति बनेपछि हालसम्म अनुगमन कार्य भएको छैन ।

अनुगमन नियमित गर्न नसकिएको उपप्रमुख सकुन्तला बस्नेतले बताउनु भयो । कोभिड सङ्क्रमणका कारण लामो समय अनुगनम प्रभावित बनेको उहाँको भनाइ छ ।

नगरपालिकाले डेढ वर्ष अघि बजार अनुगमन गरेको उहाँले जानकारी दिनुभयो । नियमित अनुगमन नहु“दा आफैँ पनि यसबाट प्रभावित भएको उपप्रमुख बस्नेतले सुनाउनु भयो ।

केहि दिन पहिले पिठो किन्दा किरा फेला परेको उहाँको भनाइ छ । ‘दशैँअघि बजार पसल अनुगमन गरिने योजना छ ।’–उहाँले भन्नुभयो–‘नगरपालिकामा रहेको अनुगमन समिति सक्रिय हुन जरुरी छ । यतातिर हाम्रो चासो जानेछ ।’

धनकुटा बजार क्षेत्रमा खाद्यान्नमा अखाद्य वस्तु मिसावट हुने गरेको उपभोक्ताको गुनासो छ । दालमा ढुङ्गा, तिलमा कनिकालाई रङ्गाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थ अत्यधिक पाइने गरेपनि सम्बन्धित पक्षको चासो नगएको धनकुटा नपा–४ की मेनका निरौलाको आरोप छ ।

यसैगरी चौबिसे गाउ“पालिकामा पनि एक वर्षको अवधिदेखि बजार पसल अनुगमन गरिएको छैन । उक्त गाउ“पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अन्य स्थानीय तहको तुलनामा बजार अनुगमन तिव्रता दिएपनि पछिल्लो समय सुस्ताएको छ ।
एक वर्षअघि अनुगमनमा राजारानी बजारमा मिति नाघेका खाद्य तथा पेय पदार्थ विक्री गरेको पाइएको चौबिसे गाउ“पालिका उपाध्यक्ष यज्ञकुमारी रुचाल बताउनु हुन्छ ।

‘बजार अनुगमन हुन दशैँ नै पर्खिने अवस्था छ ।’–उहाँले भन्नुभयो–‘विभिन्न कठिनाइले नियमित गर्न सकिएको छैन ।’

जिल्लाका व्यापारिक केन्द्रलगायत ग्रामीण बजारमा दर्ता नगरिएका पसल अत्यधिक रहेको पनि उपभोक्ताको आरोप छ ।

छथर जोरपाटी गाउ“पालिकामा कार्यविधि प्रभावकारी भएको छैन । प्रमुख पर्यटकीयस्थल भेडेटार क्षेत्रमा पनि बजार होटल अनुगमन नभएको एक वर्ष बितिसकेको छ ।

कार्यविधि बनेपनि अनुगमन प्रभावकारी नभएको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याख्खाले बताउनु भयो ।

मुख्य जिम्मेवार निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य सङ्घलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको अधिकारकर्मीको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयले यथासक्य चाँडो अनुगमन गर्ने जनाएको छ । दशैँ अगावै अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

चाड पर्वको मौका छोपेर मुल्य बढाउने, अखाद्य वस्तु मिसावट तथा विभिन्न रूपमा उपभोक्ता ठगिने क्रम रोक्न नियमित अनुगमन गरिनु पर्ने उपभोक्ताको भनाइ छ ।

अन्य

भिडियो