INSEC Online

📅 २०८३ जेष्ठ २१

तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूले असोज ४ गते सुरू गरेको धर्ना कार्यक्रमलाई असोज ७ गते पनि निरन्तरता दिएका छन् ।

समान कामको समान ज्याला दिनुपर्नेमा बाल विकासमा पढाउनेलाई विभेद गरेको र सङ्घीय सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिकसमेत नदिने भएपछि इनरूवा नगरभित्र रहेका ८४ ओटा बालविकास केन्द्रका शिक्षक र कर्मचारीले नगरपालिकामा धर्ना दिएका हुन् ।

नगरपालिकासँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै धर्ना दिएको पीडित शिक्षक कर्मचारी सङ्घर्ष समिति अध्यक्ष सोनुमगर ढुङ्गेलले बताउनु भयो ।

सङ्घीय सरकारले चालू आर्थिक वर्षको वार्षिक बजेटमार्फत २ हजार रुपियाँ, स्थानीय तहले ७ हजार रुपियाँ र पुरानो व्यवस्थाअनुसार सहयोगी कार्यकर्ताले पाउँदै आएको मासिक ६ हजार रुपियाँ एकमुष्ठ गरी मासिक १५ हजार रुपियाँ न्यूनतम पारिश्रमिक पाउने व्यवस्था सरकारले गरेको छ । राज्यले तोकेको पारिश्रमिक लिनका लागि आन्दोलन गर्नु परेको सङ्घर्ष समिति अध्यक्ष ढुङ्गेलले बताउनु भयो ।

पारिश्रमिका लागि माग पुरा नभएसम्म धर्ना जारी राख्ने भनिएकोमा प्रहरीले हस्तक्षेप गरेको र नगर प्रमुख राजन मेहताले वडामा समेत दबाव दिन भनेकाले इनरूवा नगरपालिकाका १० ओटै वडा कार्यालयमा सरकारी घोषणा अनुसारको तलब सुविधा दिनुपर्ने मागसहित धर्ना दिएको अध्यक्ष ढुङ्गेलले बताउनु भयो ।

असोज ५ गते विरोध कार्यक्रम गरेको र असोज ६ र ७ गते नगरपालिकाको मूल गेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाज प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले बताउनु भयो ।

आफूहरूको माग सम्बोधन नभएसम्म कर्मचारीलाई कार्यालयमा निषेध गरि धर्ना कार्यक्रमलाई निरन्तरता दिने सङ्घर्ष समिति अध्यक्ष सोनकुमार ढुङ्गेलले बताउनु भयो ।

राज्यले निर्धारण गरे अनुरूपको तलब पाउनुपर्ने आफूहरूको माग रहेको र धेरै स्थानीय तहले सरकारी निर्णय कार्यान्वयनमा ल्याएपनि इनरूवा नगरपालिकाले आलटाल गर्दै आएका कारण कर्मचारीलाई निषेध गरेर धर्ना दिनु पर्ने अवस्था आएको धर्ना कार्यक्रमा सहभागी सहयोगी कार्यकर्ताले बताएका छन् ।

सङ्घीय सरकारले बजेटमार्फत सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाएको भएपनि त्यस अनुसार सल्लाह र परामर्श प्रदेश सरकार र स्थानीय सरकारसँग नगरिँदा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले बताउनु भयो ।

उहाँले विराटनगर महानगरपालिकाले बढेको पारिश्रमिक दिनका लागि विराटनगरमा कर स्रोत भएपनि सबै स्थानीय तहमा सोही अनुसारको स्रोत नजुट्ने भएकाले सरकारी निर्णय कार्यान्वयनमा ल्याउन समस्या भएको बताउनु भयो । असोज ४ गतेदेखि जारी धर्नामा नगरक्षेत्र भित्र रहेका ८४ जना बालविकास केन्द्रका शिक्षक तथा कर्मचारी सहभागी छन् ।

नेपालको संविधानले धारा ३४ मा श्रमको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक श्रम अध्यासको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । श्रमिकको परिभाषामा पारिश्रमिक लिई रोजगारदाताका लागि शारिरीक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्छ भनि व्याख्या गरिएको छ । उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिकको हक हुनेछ भन्ने व्यवस्था छ ।

Photo 20210913 Sunsari

अन्य

भिडियो