सिम्रोनगढ नगर अस्पतालमा अस्पताल र स्वास्थ्यकर्मीको सेवाप्रति असन्तुष्ट स्थानीयको एक समूहले तोडफोड गर्नुका साथै आक्रमण गर्दा स्वास्थ्यकर्मी र नगर प्रहरी घाइते भएका छन् ।
आक्रमणका कारण घाइते भएका सिम्रोनगढ नगरपलिका–३ का ३६ वर्षीय प्रयाग महतो, सोही नगरपालिका–८ कचोर्वाका ३० वर्षीय रविन हुसेन, सोही नगरपालिका–११ का २६ वर्षीय शम्भु साह, सोही नगरपालिका–३ की २८ वर्षीया निर्मला ठाकुर र आदर्शकोटवाल गाउँपालिका–१ चिउटाहाका ३० वर्षीय सुरेन्द्रप्रसाद साहको उपचार भदौ २८ गते इण्डो नेपाल अस्पताल बीरगंजमा भइरहेको सिम्रोनगढ नगर अस्पतालका चिकित्सक जितेन्द्रप्रसाद यादवले बताउनु भयो ।
आक्रमणबाट घाइते सिम्रोनगढ नगरपालिका–७ का २८ वर्षीय नगर प्रहरी हवल्दार चन्दन दुवे, सोही ठाउँका २५ वर्षीय नगर प्रहरी अरविन्द कुमार, सोही नगरपालिका–९ बसवरीयाका २६ वर्षीय नगर प्रहरी सुनिलप्रसाद यादव र सोही नगरपालिका–११ का २६ वर्षीय नगर प्रहरी नागेश्वरप्रसाद यादवको उपचार इण्डो नेपाल अस्पताल बीरगंजमा भइरहेको चिकित्सक यादवले बताउनु भयो ।
सिम्रोनगढ नगरपालिका–२ मौवाहीका ३२ वर्षीय सुमेघप्रसाद गुप्ताका १६ महिने छोरा अनुराज गुप्तालाई भदौ २७ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेपछि सिम्रोनगढ नगर अस्पतालमा ल्याएर उपचार गराउनेक्रममा मृत्यु भएपछि अस्पताल र स्वास्थ्यकर्मीले लापरवाही गरेको आरोपमा स्थानीयले आक्रमण गरेका हुन् ।
एन्टिभेनम सुइ नभएकाले नलगाएको अस्पतालका इन्चार्ज सुल्ताल अन्सारीले भनेपनि भोलिपल्ट बिहान सुइ भएपनि नलगाएको आरोप पीडित पक्षले लगाएको हो ।
उक्त घटनामा अस्पतालको दुई ओटा कम्प्युटर, एउटा ल्यापटप, एउटा इसिजि मेशिन र एउटा मोनिटरमा क्षति भएको छ । अस्पतालमा स्टकमा रहेको औषधिमा पनि क्षति भएको अस्पतालले जनाएको छ ।
पीडित पक्षले भदौ २८ गते नगर अस्पतालमा मृत बालकको शव राखेर प्रदर्शन गरिरहेको अवस्थामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बाराका जिल्ला प्रतिनिधिलाई निवेदन दिएको छ ।
निवेदनमा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, दोषिलाई छानविन गरी कडा कारवाही गर्न, अस्पताल प्रशासन र नगर प्रमुखलाई कारवाही गर्न माग गरएिको छ ।
जिल्ला प्रहरी कार्यालयमा उक्त घटनाको विषयमा उजुरी आएको जानकारी नभएको एसपी दिपेन्द्र शाहीले बताउनुभयो ।