जिल्ला कारागार, बैतडीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेकाले कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरुले सास्ती भोग्नु परेको छ ।
जिल्ला कारागारका चौकीदार देवबहादुर पुनले कारागारमा कैदीबन्दीको सङ्ख्या अत्याधिक भएपछि शौचालय जानका लागि पनि लाइनमा बस्नु पर्ने बाध्यता रहेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘कोठा अभावमा त्रिपालको साहारामा बस्नु परेको छ । एउटा वेडमा दुई जनाले सुत्नु परेको छ । चिसो र गर्मीको समयमा कैदीबन्दीहरुले थप सास्ती खेप्नु पर्छ ।’
१० महिलासहित २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७७ जना कैदीबन्दी रहेकाले कोठाको अभावमा त्रिपाल लगाएर व्यवस्थापन गर्दै आएको जिल्ला कारागारका जेलर अनिल तिवारीले बताउनु भयो ।
जिल्ला कारागारमा ४६ जना कैद भुक्तान गरिरहेका छन् भने ३१ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
२०४० सालमा स्थापना भएको कारागार जिर्ण अवस्थामा रहनुको साथै क्षमता भन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कोठाको अभाव भएपछि कारागार परिसर भित्रै त्रिपाल टागेर सुत्ने व्यवस्था मिलाइको जेलर तिवारीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने बाध्यता भएपछि कारागार व्यवस्थापन विभाग र प्रदेश सरकारलाई कारागार व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको भएपनि सहयोग नपाएका कारण तत्काल समस्या समाधान गर्न नसकेको बताउनु भयो ।
सुरक्षाका कारण महिला कैदीबन्दीहरुलाई जिल्ला कारागार, बैतडीमा राख्न नसकिने भएकोले उहाँहरुलाई डडेल्धुरा र धनगढी कारागारमा पठाउनु पर्ने बाध्यता समेत रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।