१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले बारा जिल्लाको महागढीमाई गाउँपालिका–५ नगरदाह टोल निवासी १९ वर्षीय जितेन्द्र साह कानु र पटेर्वा सुगौली गाँउपालिका–४ फरदहवा निवासी ३५ वर्षीया रेश्मीदेवी थारुलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
उनीहरूलाई प्रहरीले भदौ २४ गते पर्साको पर्सागढीनगरपालिका–१ मा पर्ने जङ्गलमा कोइलाभार मन्दिर परिसरबाट गिरफ्तार गरेको हो ।
मन्दिरमा बालविवाह भएको सूचना पाएको आधारमा मनवा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरूलाई गिरफ्तार गरेको पर्साका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनु भयो ।
भदौ २४ गते नै प्रहरी प्रतिवेदनको आधारमा उनीहरूविरुद्ध उजुरी दर्ता भई अनुसन्धान सुरू गरिएको पाण्डेले बताउनु भयो ।
चितवनको कालिका नगरपालिका–१२ निवासी बालिकालाई विवाहका लागि राजी गराएर रेश्मीदेवी थारुले पर्सामा ल्याएको आरोप लगाइएको छ ।
रेश्मीका दाजुहरू चितवनमा बस्दै आएको हुनाले त्यही रेश्मीदेवी पनि चितवनमा बस्दै आएकी थिइन् ।
त्यही बस्दा भएको चिनजानको आधारमा बालिकालाई फकाई प्रलोभनमा पारी ल्याएर विवाह गराउन खोजेको देखिएको प्रहरीले जनाएको छ ।