वीरगंजको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लाण्ट जडान भएको दुई साता पुग्न लागे पनि प्लाण्टबाट अक्सिजन उत्पादन भएको छैन ।
प्लाण्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्याउन आवश्यक पाइप अहिलेसम्म जडान गर्न सकिएको छैन ।
उत्पादित ग्यास फिलिङ गर्ने आवश्यक उपकरण पनि अहिलेसम्म तयार पारिएको छैन । त्यसैले प्लाण्टबाट अक्सिजन उत्पादन हुन नसकेको हो ।
अहिले पनि अस्पतालमा दैनिक ५० देखि ६० सिलिण्डर अक्सिजन खपत भइरहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
आफ्नै प्लाण्टले अक्सिजन उत्पादन गरेको हुन्थ्यो भने ३ हजार रुपियाँ दैनिक अस्पतालको बचत हुन सक्थ्यो ।
तर, प्लाण्ट सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले रुचि नदेखाउँदा लागत बढेको छ भने बिरामीलाई समेत झञ्झट ब्यहोर्नु परेको छ ।
गएको भदौ १६ गते तामझामकासाथ प्लाण्ट उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा बेडसम्म सिलिण्डर बोकेर लैजानुपर्ने बाध्यता अबदेखि हटेको दावी गरिएको थियो । तर, अहिलेसम्म अक्सिजन नै उत्पादन नभएपछि त्यो दावी नै झूठो सावित भएको छ ।
प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले स्थानीय विकास साझेदारी (संसदीय विकास कोष) को रकम लगाएर प्लाण्ट जडान गएिको हो ।
‘प्लाण्ट सञ्चालन गर्ने दायित्व अब अस्पतालको हो ।’–अस्पतालकै कर्मचारी भन्छन्–‘तर, अस्पतालले बाँकी काम नगर्दा प्लाण्ट बेवारिसे जस्तै बन्न पुगेको छ ।’
प्लाण्टबाट अक्सिजन उत्पादन नहुँदा अस्पतालमा अझै पनि सिलिण्डर बोक्नु पर्ने बाध्यता छ । तर प्रसूति कोठामा अहिलेसम्म पनि सिलिण्डर नै बोकेर बेडबेडमा राख्नु पर्ने बाध्यता हटेको छैन ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.वीरेन्द्रबहादुर प्रधान आफूहरू प्लाण्ट सञ्चालन गर्न आवश्यक तयारीको काम गरिरहेको बताउनुहुन्छ ।
अहिले नै सञ्चालनमा ल्याउन आवश्यक उपकरण जडानको काम सकिएको छैन । उपकरण जडान गर्ने काम हुनासाथ प्लाण्ट सञ्चालनमा आउने उहाँको दावी छ । तर, उपकरण जडान कहिलेसम्म हुने निश्चित भने अझै भइसकेको छैन ।