INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा परिवारकै सदस्यद्वारा हत्याका घटनामा वृद्धि, ‘नियन्त्रण गर्न सकिन्छ’–मनोचिकित्सक

धनुषामा परिवारकै सदस्यबाट हत्या गरिएका घटनाहरूमा वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ, लालचका कारण परिवारकै व्यक्तिबाट हत्याका घटनाहरूमा वृद्धि भएको देखिन्छ ।

०७८ भदौ ८ गते बिहान मिथिला विहारी नपा–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले २५ वर्षीया पत्नी अमृता मण्डल र ५५ वर्षीय बुबा रामवृक्ष मण्डललाई टाउकोमा भाँटा प्रहार गरिनुको साथै घाँटी थिचेर हत्या गरेको प्रहरीले जनायो ।

भदौ ८ गते पारिवारिक कलहले गर्दा छोराले बुबा र पत्नीको हत्या गरेको प्रहरीको दावी छ । छोरा वैदेशिक रोजगारीको क्रममा हुँदा ससुरा र बुहारीबिच ‘अनैतिक सम्बन्ध’ रहेको सुनेका भागेश्वरले भदौ ८ गते राति १२ बजे पत्नी र बुबाबिचको सम्बन्ध आफ्नै आँखाले देखेपछि रिस थाम्न नसकेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनायो ।

०७८ वैशाख १७ गते राति हंसपुर नगरपालिका–६ टिल्हीमा ३५ वर्षीय शम्भू मण्डललाई २५ वर्षीया पत्नी सुशीलादेवी मण्डल र मृतकका २४ वर्षीय भाइ सुनिल मण्डल र २३ वर्षीय सञ्जय मण्डलले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

शम्भु मण्डल वैदेशिक रोजगारीमा हुँदा भाउजु सुशीला र देवर सुनिल मण्डलबिच ‘अनैतिक सम्बन्ध’ गाँसिएको जनाइएको छ ।

भाउजु र देवरबिचको सम्बन्धबारे पतिले थाहा पाएपछि पत्नी र भाइले योजनाबद्ध तरिकाले हत्या गरेको प्रहरीको दावी छ ।

हत्या आरोपित सुशीलादेवी मण्डल, सुनिल मण्डल र सञ्जय मण्डल पूर्पक्षका लागि कारागारमा रहेको प्रहरीले जनायो ।

०७८ असार ४ गते राति लक्ष्मीनिया गाउँपालिका–४ सपही बस्ने २२ वर्षीया प्रियङ्कादेवी पासवानलाई घाँटी थिचेर २८ वर्षीय पति सन्तोष पासवानले हत्या गरेको आरोप छ ।

असार ४ गते राति सुत्ने बेलामा पत्नीको सम्बन्ध परपुरुषसँग रहेको विषयमा पति सन्तोष पासवानले शङ्का भएको भनी सुरू गरिएको विवाद हत्या घटनामा परिणत भयो ।

पत्नी अरूसित लागेको सन्तोषको आशङ्काले रिस थाम्न नसकेर उनले पत्नीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनायो ।

पत्नी हत्या आरोपित सन्तोष पूर्पक्षका लागि कारागारमा रहेको पनि प्रहरीले जनाएको छ ।

कमला नपा–२ माचि झिटकैया बस्ने ४० वर्षीया शर्मिला देवीको फागुन ४ गते ४५ वर्षीय पति खुशीलाल गडेरीले घाँटी थिचेर हत्या गरेको प्रहरीको आरोप छ ।

घरभन्दा १ किलोमिटर पर कमला नपा–२ स्थित खेतमा शर्मिलाको शव फेला परेको थियो ।

शर्मिलाको सम्बन्ध स्थानीय सुनिल महतोसँग रहेको थाहा पाएर रिसाएका आरोपित खुशीलालले पत्नीको घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष वयान दिएको प्रहरीले जनाएको छ । आरोपित हाल पूर्पक्षका लागि कारागारमा रहेको पनि प्रहरीले जनायो ।

०७७ पुस १७ गते दिउँसो विदेह नपा–२ बस्ने ६ वर्षीय बालक नन्दन राउत अमात्यको अपहरण गरी हत्या गरेको अवस्थामा शव फेला प¥यो ।

नन्दन राउत अमात्यको हत्यामा विदेह नपा–२ बस्ने २३ वर्षीया फुपू प्रमिलादेवी अमात्य, ५० वर्षीय बाजे ब्रह्मदेव राय, ४५ वर्षीया बज्यै गुलावी देवीलगायत संलग्न रहेको आरोप छ । आरोपितहरू जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

०७७ कात्तिक २९ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने २१ वर्षीया आरती साह र चार वर्षीया छोरी रिया साह उपर आरतीका २७ वर्षीय पति सञ्जयकुमार साहले एसिड प्रहार गरी हत्या प्रयास गरेको आरोप छ ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत शरीरको २५ प्रतिशत भाग जलेको छ ।

एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ । आरोपित सञ्जयकुमार साहलाई ०७८ भदौ १० गते जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजाय र ६ लाख ५० हजार रुपियाँ जरिबाना र सोही बरावरको क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।

समाजमा बढ्दो वैदेशिक रोजगारीले आर्थिक रूपमा सवल बनाएपनि घरमा भने आन्तरिक कलह बढाएको छ ।

घरमा पारिवारिक कलह, प्रेम र ‘अनैतिक सम्बन्ध’का कारण परिवारकै व्यक्तिहरूबाट महिला र बालबालिकाको हत्या गरिने क्रम बढ्दो देखिएको छ । पछिल्लो समयमा धनुषासहित प्रदेश २ मै यस्ता घटना बढेका छन् ।

पत्नी परपुरुषसँग बोल्यो, जिस्क्यो, हाँस्यो भन्दै कुटपिट गर्ने, हत्या प्रयास गर्ने र हत्या गर्ने जस्ता घटनाहरू दिनहुँजसो सार्वजनिक भइरहेका छन् ।

घटनाको मुल जडोलाई न्यूनीकरण नगरी वा समस्या आउनुको कारण नखोजी सिधै महिलालाई आरोप लगाएर कुटपिट गरिनुको साथै हत्या गरिनु निकै ठुलो अपराध भएको महिला अधिकारकर्मी सुभद्रा आलेले बताउनु भयो ।

‘परिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतको गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्याका घटनामा वृद्धि हुनु समाजका लागि घातक बन्दै आएको छ ।’–जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो ।

आफन्तबाटै हत्यासम्मको घटना बढेपछि प्रदेश २ प्रहरी कार्यालयले यसको सामाजिक, मानसिक र पारिवारिक कारण केलाउँदै कारबाहीसँगै चेतनामूलक अभियान थाल्नुपर्ने विषयमा छलफल अघि बढाएको एसपी रानाभाटले बताउनु भयो ।

मनोचिकित्सक डा.रोविन झाले व्यक्तिमा नकारात्मक सोच हावी भएर यस्ता घटना हुने गरेको बताउनु भयो ।

घरपरिवारको कलहले निम्त्याएको रिस थाम्न नसकेपछि हत्यासम्मको घटना हुने गरेको डा. झाको भनाइ छ ।

डा.झाले भन्नु भयो–‘व्यक्तिले रिस सहन नसकेर सानो विषयलाई पनि ठूलो मुद्दा बनाएपछि मान्छे झन्झन् रिसाहा बन्छ । उसमा बदलाको भावनाले जरा गाडेपछि हत्याको घटना गर्ने गरेकोले यस्ता मनोप्रवृत्तिको पनि उपचार गर्न सकिन्छ ।’

अन्य

भिडियो