INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहले पेस गरेका माग नीति तथा कार्यक्रममा सम्बोधन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहले भानु नगरपालिकामा पेस गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित अधिकांश मागलाई नगरपालिकाले वार्षिक एवम् दिर्घकालिन नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेको जनाएको छ ।

नगरपालिकाले भदौ १७ गते इन्सेकलाई पत्र लेखी मानव अधिकार समूहद्वारा विभिन्न मितिमा नगरपालिकामा पेश गरेको ध्यानाकर्षण पत्र प्रति नगर कार्यपालिका तथा नगरसभाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

photo20210904Tanahun

नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले हस्ताक्षर गर्नुभएको सो पत्रमा मानव अधिकार समूहले उठान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सरोकारका विषय मध्ये विद्यालयको अपाङ्गमैत्री भौतिक पुर्वाधार, विद्यार्थीलाई दिवा खाजा, सूचना तथा सञ्चारको प्रविधिबाट शिक्षण सिकाइ जस्ता क्रियाकलापहरू नगरसभा र नगर कार्यपालिकाले वार्षिक बजेट तथा नीति र कार्यक्रममा समावेश गरेको जनाएको छ ।

त्यसैगरी स्वास्थ्य तर्फ कोभिड अस्पतालको स्तरोन्नती, कोभिड परीक्षण, कोषको परिचालन, स्वास्थ्य सेवा सञ्चालन, औषधि व्यवस्थापन, जेष्ठ नागरिक स्वास्थ्य सेवाको विषयलाई पनि सम्बोधन गरिएको पत्रमा जनाइएको छ ।

त्यस्तै खाद्य तर्फ कृषकहरूलाई उत्पादनमा जोड्ने, कृषि अनुदान, कृषकको प्रोफाइल तयारी, कोल्ड स्टोर निर्माण, कृषिमा आधुनिकी करण, कृषि तथा पशु वस्तुको विमा जस्ता सवाललाई पनि सम्बोधन गरिएको पत्रमा जनाइएको छ ।

मानव अधिकार समूहले पटकपटक ध्यानाकर्षण गराएका विषयहरूलाई नगरपालिकाले सकारात्मक रूपमा लिइ नगरसभा तथा नगर कार्यपालिकाको बैठक छलफल गरी सम्बोधन गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताउनुभयो ।

मानव अधिकार समूहले विभिन्न समयमा माग गरेको कारण नीति तथा कार्यक्रममा यी विषयहरूलाई समावेश गर्न सजिलो भएको पाण्डेले बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि मानव अधिकार समूहसँग छलफल गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवास तथा अन्य मानव अधिकारका सवालहरूमा सहकार्य गरी अगाडि बढ्न नगरपालिका तयार भएको बताउनुभयो ।

अन्य

भिडियो