INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता व्यक्तिको परिवारद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी

बेपत्ता पीडित परिवारले आफन्त बेपत्ता पारीएको झण्डै दुई दशक बित्न लाग्दा न्यायको माग गर्दै  जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ १३ गते उजुरी दिएका छन् ।

दोलखा जिल्ला चरीकोट नाम्दु– १ घर भई हाल नेपालगन्ज–१ धम्बोझी  बस्दै आएकी चन्द्रकला उप्रेतीले  २०६० सालमा वेपत्ता पारिएका पति भुपेन्द्रराज उप्रेतीको अवस्था सार्वजनीक गर्नुपर्ने माग गर्दै उजुरी दिनु भएको हो ।

‘पतिलाई घरबाट लैजाने व्यक्तिहरूलाई हामीले चिनेका छौँ । उनीहरूले हामीलाई हाम्रा श्रीमान कहाँ छन् भनि दिनु पर्‍यो, हामीलाई अरू केही चाहिदैन । हाम्रा आपन्त जीवित छन् या मृत्यु भइ सक्यो भन्ने जानकारी दिए पुग्छ ।’ उहाँले भन्नु भयो ।

‘परिवार फर्केर आउने आशामा अब कति रोएर बस्ने ?’ तत्कालीन नेकपा माओवादी र सरकारबीच दश वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएको पन्ध्र वर्षपछि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बने । दुई वर्षमा काम सक्ने गरी बनेका आयोगहरूले ६ वर्षमा समेत उपलव्धिमूलक काम गर्न नसकेको उहाँको भनाई छ ।

२०६३ साल मङ्सिर ५ गते राज्यका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि सेना समायोजन र संविधान लेखनको काम पुरा भएपनि महत्वपूर्ण ठानिएको र पीडितसँग प्रत्यक्ष सरोकार राख्ने सङ्क्रमणकालीन न्याय निरूपणको काममा भने खासै प्रगति नभएको चन्द्रकलाले बताउनु भयो ।

कोहलपुर नगरपालिका–११ कालिकानगरकी देवीसरा विकले मानव अधिकार  सम्बन्धि बनेका विभिन्न सङ्घ संस्थामा धाउँदा थाकिसकेकाले अब प्रहरीबाटै न्याय पाउने अपेक्षा रहेको बताउनु भयो । उहाँका पति धनसिंह कामी (विक)लाई नेपाली सेनाद्वारा २०५९ साल वैशाख १३ गते वेपत्ता पारिएको थियो ।  उहाँले पतिको अवस्था सार्बजनिक गर्न माग गर्दै उजुरी दिनु भएको हो ।

बेपत्ता परिवारले न्यायको माग गर्दै प्रहरीमा जाहेरी दिएको नेपालमै पहिलो पटक भएको अधिवक्ता वसन्त गौतमले बताउनु भयो । कानुनी प्रकृया अनुसार यो अभ्यास नयाँ भएकोले पीडितहरूले न्याय पाउनेमा आशावादी रहेको उहाँको भनाई छ ।

उजुरी  बुझ्दै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले विभागबाट अनुमति लिएर छिटो भन्दा छिटो कारबाही अगाडि बढाउने बताउनु भयो ।

द्वन्द्वकालमा सबैभन्दा बढी साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र प्रभावित भएको थियो । सो क्रममा बाँकेमा ६५ जना वेपत्ता भएका थिए, भने अन्य जिल्लाबाट बसाई सरी आएका गरेर एक सय रहेको तत्थ्याङ्क छ । यसैगरी बर्दियामा २ सय ४० जना बेपत्ता भएका थिए ।

उजुरी प्रक्रियामा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक पर्वेक्षक रुपमा र अधिवक्ताद्वय बसन्त गौतम, पदम पाण्डेले उजुरी लेखनमा सहयोग गरेका थिए ।

अन्य

भिडियो