बैंकको ढिलासुस्तीका कारण आठवीसकोट नगरपालिकाका लक्षित वर्गले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाले आर्थिक वर्ष ०७७/०७८ बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता लिन दिनभरी हिडेर नगरपालिकाको केन्द्र राडीज्यूला आएको तर बैंकले अनेक बहाना गरेर भत्ता उपलब्ध नगराएको आठवीसकोट नपा-३ का ७१ वर्षीय नन्दे बोहराले दुःखेसो पोख्नुभयो ।
नगरपालिकाको केन्द्रबाट विकटमा रहेका १ देखि ६ नम्बर वडाका करिब ८० जनाले सामाजिक सुरक्षा भत्ता नपाएको आठवीसकोट–३ कि ४० वर्षीया दीपा शाहीको भनाई छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तरगतको रकम समयमै बैंकमा जम्मा गरेतापनि बैंक एउटा मात्र हुँदा भत्ता वितरणमा समस्या भएको नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठवीसकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सेन्चुरी बैँकमा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकामा एउटा मात्र बैंक भएको र ग्राहक पहिचान फाराम भर्नुपर्ने भएकोले भत्ता वितरणमा ढिला भएको सेन्चुरी बैँक आठवीसकोट शाखाका म्यानेजर डम्बर गौतमले स्वीकार गर्नुभयो ।
भौगोलिक विकटताका कारण पनि भत्ता वितरणमा ढिला भएको भन्दै गौतमले अब तत्काल सामाजिक सूरक्षा भत्ता वितरण गरिने बताउनुभयो ।