लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको समयमा ड्युटिमा खटिएका ३० वर्षीय प्रहरी जवान जयप्रकाश यादवलाई साउन १९ गतेदेखि ६ महिनाका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
साउन १९ गते आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच बसेको बैठकले प्रहरी जवान यादवलाई निलम्बल गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने गरी सम्झौता गरे अनुरूप यादवलाई निलम्बन गरेको प्रहरीले जनाएको हो ।
सम्झौतामा घटना अनुसन्धानका लागि उच्चस्तरीय छानविन टोली गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनु भयो ।
सम्झौतापछि मात्रै पीडित परिवारले शव बुझेको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम साउन १५ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो ।
पीडित परिवारले हत्या भएको भन्दै घटना निश्पक्ष छानविन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् । शवको पोष्टमार्टमको रिपोर्ट आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
साउन १५ गते बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष भित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा रविदासको शव फेला परेको थियो ।