INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी नीतिका कारण सामाजिक सुरक्षा भत्ता बैङ्कबाट, भत्ता बुझ्न सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७० वर्षीया ज्यानमाया राई साउन १८ गते सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि चार घण्टा पैदल हिँडेर धनकुटा बजार आउनु भयो, तर उहाँलाई भत्ता बुझ्नका लागि आवश्यक कागजपत्र पुर्‍याउन निकै सकस पर्‍यो । सकसका बाबजुद प्रमाणित कागजपत्र पुर्‍याएपछि उहाँले सामाजिक सुरक्षा भत्ता बुझ्नु भयो । वृद्ध भत्ताका लागि बैङ्कमा खाता मिलाउन आएको बताउने ज्यानमाया राईले घरबाट धनकुटा र धनकुटाबाट घर आतेजाते गर्दा भत्ता बापतको आधा रकम बाटो खर्चमा सकिएको बताउनु भयो ।

धनकुटा बजारस्थित माछापुच्छ्रे बैङ्कमा भेटिनु भएका धनकुटा नगरपालिका–५ का ८० वर्षीय ज्येष्ठ नागरिक धनबहादुर राईले भत्ता लिन असाध्यै सास्ती खेप्नु परेको गुनासो गर्नु भयो । यसअघि घर आँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आउनु भएका राईले बैङ्कबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चेकमा लेख्न लगाउनुपर्ने, बुढेसकालमा घण्टौँ लाममा बस्नुपर्ने, हिँडेर थाकेको ज्यान निकै समस्या भयो ।’ उहाँले घण्टौँ हिँडेर बैङ्कमा पुगे पनि प्रक्रिया मिलाउँदा एक दिन नै जाने गरेको गुनासो गर्नु भयो ।

धनकुटा नगरपालिका–८ की ७२ वर्षीया हरिमाया आठपहरीयाले पनि ज्येष्ठ नागरिकले पाउन वृद्धा भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको बताउनु भयो । भत्ता लिन धेरै समय खर्चनु पर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उहाँको गुनासो छ । ‘पहिले घरमै दिन्थ्यो तर अहिले दुःख दियो’ उहाँले भन्नुभयो ‘पहिले एकपटक बैङ्कबाट दिन थालेको भत्ता फेरि घरैमा दिन थालेको थियो अहिले फेरि झन्झट र समस्या थपिदियो ।’

महालक्ष्मी नगरपालिका–३ का ८० वर्षीय भक्तबहादुर थापालाई बैङ्कबाट वृद्धा भत्ता बुझ्न निकै सास्ती भएको बताउनु भयो । उहाँलाई गएका वर्षहरूमा नगरपालिकाका कर्मचारीले घरैमा आएर भत्ता दिने गरेको भएपनि यो पटक तीन घण्टाको पैदल दुरी पार गरेर वडा–७ जितपुरस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा पुग्नु परेको बताउनु भयो । उहाँले भत्तावापत पाएको रकम भन्दा जाउँजाऊ नै निक्कै मुस्किल भएको बताउनु भयो । ज्येष्ठ नागरिकलाई भत्ता सहजसँग घर-घरमा बाड्ने भनेर रेडियो टिभीले भनेको सुनेको थिएँ ।’ उहाँले भन्नुभयो ‘तर अहिले टाढा-टाढाका बैङ्कमा खाता खोल्नुपर्नेले हामी ज्येष्ठ नागरिकलाई समस्या भइरहेको छ ।’

ज्यानमाया, हरिमाया र भक्तबहादुर जस्ता धैरे ज्येष्ठ नागरिकलाई वृद्धा भत्ता बुझ्न समस्या हुँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैङ्किक प्रणाली लागू गरेपछि ज्येष्ठ नागरिकहरूलाई भत्ता बुझ्न अझ् सकस भएको छ । भत्ता बुझ्नका लागि भीडमा लाम बस्नु पर्ने भएकाले कोभिड–१९ को महामारीका समयमा कोभिड–१९ को सङ्क्रमण समेत फैलने जोखिम बढेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण तथा रोकथामका लागि सरकारले भीडभाड नगर्न भनिरहेको अवस्थामा भत्ता लिन बैङ्कमा आईपुगेका ज्येष्ठ नागरिकले भीडभाडमै लाम बस्नु परेको छ ।

बैङ्कबाट भत्ता बुझ्नु पर्ने अवस्था अघि सम्बन्धित वडा कार्यालयबाट घरैमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकोमा सरकारले बैङ्किक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेपछि त्यसले ज्येष्ठ नागरिकहरूलाई सहजता भन्दा कठिनाइ बढी भएको छ । धनकुटा नगरपालिकामा भौगोलिक हिसाबले बजार भन्दा निकै टाढा रहेका भीरगाँउ, बेलहारा, टेकुनाला, सान्ताङ, याक्तेलगायतका ठाउँका ज्येष्ठ नागरिकले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार आई पुग्नु परेको छ । कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर फर्कनु परेको अवस्था छ ।

महालक्ष्मी नगरपालिकाका–४ र ५ बाहेक अरू ७ ओटा वडाका ज्येष्ठ नागरिकले वृद्धा भत्ता बुझ्न वडा–७ को जितपुर पुग्न परेको छ । वडा–४ र ५ को लागि वडा–५ कै लेगुवा बजारमा रहेको बैङ्कबाट भत्ता बुझ्ने व्यवस्था गरिएको छ ।

स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको माग छ । राज्यले हरेक कारोबारलाई बैङ्किङ्ग प्रणालीमा लैजाने नीति अनुरुप ज्येष्ठ नागरिकहरूले पनि बैङ्क खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि ज्येष्ठ नागरिकलाई भने बैङ्किङ प्रणालीले सास्ती भएको छ ।

सामाजिक सुरक्षाको भत्ताका नाममा बैङ्किङ्ग प्रणालीले असुरक्षा भएको ज्येष्ठ नागरिकहरूको गुनासो छ । ८० देखि ८५ वर्ष नाघेका ज्येष्ठ नागरिक तीन–चार घण्टाको यात्रा तय गरी भत्ता बुझ्नु पर्ने बाध्यतामा छन् । आगामी दिनको भत्ता वितरण वडा कार्यालयमै गर्दा राम्रो हुने ज्येष्ठ नागरिकहरूको भनाइ छ ।

बैङ्कमा आउन नसक्ने ज्येष्ठ नागरिक र क वर्गका अपाङ्गता भएका व्यक्तिका लागि घरमै गएर खाता खोलेर सहजताका लागि गाउँमै गएर भत्ता वितरण सुरू भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनु भयो । ‘सरकारी नीतिअनुसार सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता बैङ्किङ्ग प्रणालीबाट दिने व्यवस्था छ।’ थापाले भन्नुभयो । ‘आर्थिक सुशासनका लागि सरकारले बैङ्किङ्ग प्रणाली लागू गरेको अधिृकत थापाको भनाइ छ ।

विगतमा घरदैलोमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराए पनि सुरक्षाका कारण बैङ्कमा रकम जम्मा गरिएको धनकुटा नगरपालिकाका अधिकृत थापाको धारणा छ । कतिपय ठाउँमा अनियमितता र असुरक्षा समेत भएकाले बैङ्किङ्ग प्रणाली अपनाइएको अधिकृत थापाको भनाइ छ । बानी नबसेकाले ज्येष्ठ नागरिकले बैङ्कबाट भत्ता लिन सास्ती भएको भएपनि पनि केही समयपछि सहज हुने अधिकृत थापाको भनाइ छ ।

महालक्ष्मी नगरपालिकाका प्रशासकीय अधिकृत बसन्त गिरीले पारदर्शिता र माथिल्लो निकायको नीतिका कारण बैङ्कबाट भत्ता वितरण थालिएको बताउनु भयो । उहाँले राज्यले हरेक कारोबारलाई बैङ्किङ्ग प्रणालीमा लैजान चाहेकोले हरेक नेपालीको बैङ्क खाता हुनुपर्ने तथा ज्येष्ठ नागरिकहरूले पनि बैङ्क खाताबाट नै सामाजिक सुरक्षा भत्ता बापतको वृद्ध भत्ता निकाल्ने गरी सरकारले नीति बनाएको अधिकृत गिरीले बताउनु भएको छ ।

Photo 20210802 Dhankuta (2)

Photo 20210802 Dhankuta (1)

अन्य

भिडियो