विभिन्न व्यापारिक केन्द्रमा पुरूष सरह काम गर्ने महिलाहरूले समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।
ठेकेदार र उपभोक्ता समितिका कारण महिलाहरू लामो समयदेखि अन्यायमा परेको कुपिण्डे नगरपालिका–१० की मुना घर्तीले बताउनुभयो ।
‘पुरूष सरह ज्याला माग्यो भने कामबाट निकालि दिन्छन् कि भन्ने डर लाग्छ’ उहाँले भन्नुभयो, ‘पाँचजनाको परिवार छ, भनेको समयमा मजदुरी नपाउँदा पनि समस्या हुन्छ ।’
प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा पनि पार्टीका कार्यकर्ताले मात्र अवसर पाएको उहाँको भनाइ छ ।
सरकारी नीकायले समान ज्याला तोकेपनि महिलाहरूले कम ज्यालामै काम गर्नुपर्ने बाध्यता रहेको शारदा नगरपालिका–८ सिमखर्ककी २७ वर्षीया सुनीता रोकाले गुनासो गर्नुभयो ।
उहाँका अनुसार मजदुरी गरे बापत महिलाले दैनिक ५ सय ५० रूपियाँ पाउँछन् भने पुरूष कामदारहरूले ६ सय ५० रूपियाँ पाउँछन ।
आफूसँगै समान काम गरेका पुरूषले ७ सय रूपियाँ पाए पनि आफूले ६ सय रूपियाँ मात्र पाउने गरेको शारदा नगरपालिका–१ की निर्मला परियारले बताउनुभयो ।

महिला मजदुर सङ्गठनकी अध्यक्ष सरीता हमालले ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीले आफैं ज्याला तोक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार केही ठेकेदारले बाहिरबाट मजदुर ल्याउँदा स्थानीय मजदुरहरुले काम गर्न नपाएको अवस्था छ ।
जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टका अनुसार जिल्लाभरि झन्डै २ हजार महिलाले ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन् ।
जिल्ला समन्वय समितिले मिस्त्रिको दैनिक ज्याला ९ सय ५०, सहायक मिस्त्रीको ७ सय ५० र मजदुरको ६ सय ५० रूपियाँ तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइले महिलाले पुरूष सरह काम गर्न सक्दैनन् भन्ने गलत धारणा समाजमा अझै कायमै रहेकोले यो समस्या आएको बताउनु भयो ।
जिल्ला दररेट अनुसार ज्यालामा विभेद भएको पाइएमा सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याइने भएकोले विभेदमा परेका मजदुरहरूले निसङ्कोच जानकारी गराउन पनि विष्टले आग्रह गर्नुभयो ।