शैक्षिक शत्र सुरू भएको डेढ महिना बितिसक्दा पनि जिल्लाका कुनैपनि विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका सप्लायर्सहरूको लापरबाहीका कारण पाठ्यपुस्तक पुग्न नसकेको अविभावकहरूले गुनासो गरेका छन् ।
फागुन १ गतेदेखि सुरू हुने शैक्षिक सत्र यो वर्षदेखि असार १ देखि सुरु भएको छ तर बालबालिकाको हातमा पाठ्यपुस्तक नपुग्दा पठन पाठनमा सङ्कट निम्तिएको सर्केगाड गाउँपालिका–३ का स्थानीय भइबहादुर फडेराले गुनासो गर्नु भयो ।
कोभिड –१९ का कारण विद्यालय सञ्चालनमा आउन नसके पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक परेको भए घरमै अध्ययन गर्न सकिने खार्पुनाथ गाउँपालिका–१ मालिका माविमा कक्षा दशमा अध्यनरत छात्र राजेन्द्र विकको भनाइ छ ।
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी जिम्मा पाएको रोकाया पुस्तक पसलले केही पुस्तक मात्र जिल्लामा पुर्याएको छ ।
ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले गाउँपालिकामा रहेका १८ वटा विद्यालयका लागि पाठ्य पुस्तक ढुवानीको जिम्मा लिएको गौरी शङ्कर सप्लायर्सलाई ताकेता गरेको बताउनुभयो ।
अदानचुली गाउँपालिकाका स्थानीय कालीबहादुर थापाले पनि गाउँपालिकाका २१ वटै विद्यालयमा पाठ्यपुस्तक आइ नपुगेको बताउनु भयो । सर्केगाड र चङ्खेली गाउँपालिकामा पनि पाठ्यपुस्तक आइपुगेको छैन ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णुबहादुर शाहीले एक महिनादेखि गत वर्षकै ढुवानी कर्तालाई सुर्खेत र नेपालगञ्जबाट ढुवानीको व्यवस्था मिलाउन आग्रह गरेपनि हालसम्म सुनुवाई हुन नसकेको जानकारी दिनु भयो । ढुवानीको जिम्मा लिएका केहि सप्लायर्स सम्पर्कमा समेत नआएको प्रमुख शाहीले बताउनु भयो ।
जिल्लाका लागि चार वटा सप्लायर्सले पाठ्यपुस्तक ढुवानीको जिम्मेवारी लिँदै आएका छन् । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले हुम्लाका लागि दुई वटा सप्लायर्सले सुर्खेतमा र दुई वटा सप्लायर्सले नेपालगञ्जमा पुस्तक बुझेर बोरामा प्याकिङ गरे पनि हालसम्म नउठाएको बताउनु भयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले शैक्षिक सत्रको सुरूवातमै कोभिडका कारण विद्यालय बन्द भए पनि पाठ्यपुस्तक ढुवानीको व्यवस्था गरेर विद्यार्थीको हात–हातमा पुस्तक पुर्याउनु पर्ने निर्णय गरेको थियो ।
कक्षा एकदेखि पाँचसम्म निजी क्षेत्रले र ६ देखि १० सम्म पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिएको छ । पाठ्यपुस्तक नपाउँदा जिल्लाका १६ हजारभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।