वीरेन्द्रनगर बजारमा प्लाष्टिक र फलाम लगायतका कवाडी सामान सङ्कलन गरेर जिविकोपार्जन गर्दै आएका ४५ वर्षीय सुन्तले दमाइलाई ट्राफिक प्रहरीले कुटपिट गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान खिम केसीले वीरेन्द्रनगरको बीच बजारमा मजदुर सुन्तलेलाई कुटपिट गरेका हुन ।
कवाडी सामान सङ्कलन गरेर चौतारी, सडकपेटी र प्रतिक्षालयमा रात बिताउँदै आएका सुन्तलेलाई प्रहरी केसीले कुटपिट गरेको भिडियो साउन १६ गते सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
भिडियोमा सुन्तलेले सिमेन्टबाट फलामका टुक्रा छुटाउन मुख्य बजारको नालीमा ढुङ्गा प्रहार गर्दै गर्दा दायाँतर्फबाट दुइजना ट्राफिक आएर ती मध्येका केसीले सुन्तलेको हातमा रहेको ढुङ्गा खोसेर फाल्दै गालामा पिटेको देखिन्छ ।
आफू कानले सुन्न नसक्ने बताउँदै सुन्तलेले भन्नुभयो ‘कवाडी सामान सङ्कलन गरेर छाक टार्दै आएको छु, भत्किएको नाला नजिकै फलामको टुक्रा देखेर त्यसलाई छुट्टाउन खोज्दा ट्राफिक प्रहरीले कुटपिट गरे ।’
आरोपित केसीले बजारमा रहेको नालि फोडेर फलाम निकालिरहेको अवस्थामा नगर्नुहोस भनेर साइड लगाउन खोज्दा नमानेपछि एकपटक हात छोडेको बताउनु भयो । ‘मेरो कुटपिट गर्ने नियत हैन, सार्वजनिक संरचना तोडेको कसै न कसैले त रोक्न पर्यो भनेर उहाँलाई रोकेको मात्र हो’ केसीले भन्नुभयो ।
घटनाका बारेमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख इन्स्पेक्टर उपेन्द्रप्रसाद आचार्यले घटना बारेमा अनुसन्धान सुरू गरिसकेको बताउनु भयो ।
आवश्यक परेमा प्रदेश ट्राफिक कार्यालयबाट समेत अनुसन्धान गरिने र अनुसन्धानको क्रममा दोषी पाइएमा ट्राफिक प्रहरी केसीलाई नियमानुसार विभागिय कारवाही हुने इन्स्पेक्टर आचार्यले जानकारी दिनु भयो ।