INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका खरिदारलाई कारबाहीको माग गर्दै कैदी बन्दीद्वारा प्रशासनमा पत्राचार

जिल्ला कारागार शाखा डडेल्धुराका कैदी बन्दीले कारागार शाखाका खरिदारलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएका छन् ।

कैदी बन्दीहरूले कारागार शाखा डडेल्धुरामा कार्यरत खरिदार लक्ष्मी जोशीले विभिन्न विषयमा कारागारमा रहेका कैदी बन्दीहरूलाई दुःख दिने गरेको आरोप छ ।

इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वको अधिकारकर्मीको टोलीले फागुन ८ गते जिल्ला कारागार डडेल्धुराका कैदी बन्दीहरूसँग गरिएको भेटघाटमा समेत उनीहरूले खरिदार जोशीले दुःख दिने गरेको बताएका छन् ।

कैदी बन्दीहरू विभिन्न माग सहित आन्दोलनमा रहेका बेला अधिकारकर्मीको टोलीले कैदी बन्दीहरूसँग छलफल गरेको हो । छलफलका क्रममा कैदी बन्दीहरूले आफ्ना माग पुरा गर्न प्रशासनलाई दबाव दिन अधिकारकर्मीलाई आग्रह गरेका छन् ।

कैदी बन्दीहरूले खरिदार जोशीमाथि पेशीको बारेमा समयमा जानकारी नदिने, कैदी बन्दीका संरक्षकहरूसँग मानवीय व्यवहार नगर्ने, भनेका बेला उपचार नगर्नेलगायतका आरोप लगाएका छन् । कारागार व्यवस्थापन विभागले डडेल्धुरा कारागारबाट धनगढी कारागार सरुवा गरेका कैदी कुन्दन मानन्धरबाट खरिदार जोशीले १० हजार नगद दिए पठाउने र नत्र नपठाउने भनी रकम मागेकोसमेत आरोप लगाइएको छ ।

‘अनसन बस, जेलरको विरुद्धमा नाराबाजी गर, जेलर सरुवा भएपछि म त्रि्रो काम गरिदिन्छु’ भन्दै खरिदार जोशीले कैदी बन्दीलाई जेलरको विरुद्धमा भड्काउने जस्ता क्रियाकलाय गरेकोसमेत प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

खरिदार जोशीले भने आफूले कुनैपनि प्रकारको दुःख नदिएको र कैदी बन्दीहरू एकाएक आफ्नो विरुद्धमा गएको प्रतिक्रिया दिएका छन् । डडेल्धुराको कारागारमा ४५ जना कैदी बन्दीहरू रहेका छन् ।

सो विषयमा कैदी बन्दीले पत्राचार र अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि जिल्ला प्रशासन कार्यालयले कारागार प्रशासनलाई कैदी बन्दीको उपचार प्राथमिकताका साथ गर्न र सरुवा भएका कैदी बन्दीलाई तीन दिन भित्र सरुवा भएको ठाउँमा जाने वातावरण बनाउन निर्देशन दिएको जनाएको छ ।

अन्य

भिडियो