भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको तीन वर्ष बितिसक्दा पनि घटनामा सङ्लग्न पक्षहरु गिरफ्तार हुन सकेका छैनन् ।
०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँडेकी पन्त साउन ११ गते अज्ञात पक्षले हत्या गरी फालिएको अवस्थामा भीमदत्त नगरपालिका–१८ निम्बुखेडा सडक नजिकै रहेको खोलापारी उखुबारीमा भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी उमाप्रसाद चतुरवेदीले निर्मला पन्तको हत्या घटनालाई पहिलो प्रथामिकतामा राखेर प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको सयुक्त टोलीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँदै अहिले नै अनुसन्धानका क्रममा देखिएका तथ्यहरु सार्वजनिक गर्न नसकिने इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मासँग भएको फोन सम्पर्कमा बताउनु भयो ।
उहाँले भन्नु भयो–‘हामीले पीडित पक्षलाई एक हप्ता अगाडि मात्रै भेटेर अनुसन्धानबाट प्राप्त उपलब्धीहरुका बारेका जानकारी गराएका छौँ । हामीलाई आशा छ, छिट्टै घटनामा सङ्लग्न व्यक्तिहरु कानुनी दायरामा आउछन् ।’
घटनामा सङ्लग्न पक्षलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै पीडित परिवार तथा स्थानीयहरुले गरेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौ आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले चलाएको गोलीबाट भिमदत्त नगरपालिका–१८ का १७ वर्षीय सन्नी खुनाको मृत्यु समेत भएको थियो ।
निर्मला हत्या प्रकरण घटनाको अनुसन्धानमा प्रहरीले नै लापार्वाही गरेको भन्ने स्थानीयहरुको आरोपपश्चात यस विषयमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोली र डिआइजी धिरू बस्नेतको नेतृत्वमा आन्तरिक छानबिन समिति समेत गठन भएका थिए ।
आन्तररिक छानबिन समितिले गरेको अनुसन्धानबाट जिल्लास्थित प्रहरी प्रशासनले अनुसन्धानमा लापर्वाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, डिएसपीद्धय अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्धय जगदीश भट्ट र एकेन्द्र खड्का तथा असई रामसिंह धामीलाई निलम्बन समेत गरिएको भएपनि हाल उनीहरुले सफाइ पाएका छन् ।
निर्मला हत्या प्रकरणको छानविन गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एसएसपी ठाकुर ज्ञवाली र प्रहरी प्रधान कार्यालयका एसपी दुर्गा सिंह नेतृत्वको टोली गठन गरी अनुसन्धान सुरु गरेका भएपनि घटना भएको तीन वर्ष वितिसक्दा समेत हत्याराहरु पत्ता लाग्न नसकेको अवस्था छ ।
निर्मालाले लगाएका कपडाहरू प्रहरी कर्मचारीले नै धोइपखाली गर्नु, उनको दाहसस्कार कै क्रममा उनले लगाएका कपडा जलाइनु र घटनास्थल नजिकै प्राप्त भएका उनका कापिकिताबहरूको समेत संरक्षण नगरिनुले प्रहरी प्रशासनमाथि नै शंका उत्पन्न भएको पीडित पक्षले बताउँदै आएका छन् ।
इन्सेक लगायत मानव अधिकार सङ्घ–संस्थाको टोलीले ०७५ साउन १२ गतेदेखि निर्माला हत्या घटनाका सम्बन्धमा तथ्य सङ्कलन गर्ने कार्य गरेको थियो ।
यस क्रममा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज बिष्ट, जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्कासँग भेटघाट गरी सूचना सङ्कलन गर्ने कार्य गरिएको थियोे ।
इन्सेकको टोलीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडका र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलगायतका सुरक्षाकर्मीहरूलाई नेपाल सरकारले जिम्मेवारीबाट हटाएको थियो ।
त्यसपछि जिल्लाको जिम्मेवारी दिएर पठाइएका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कडायतसँग भेटघाट गरी प्रतिवेदन तयार गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनामा सङ्लग्न भएकाहरूको अनुसन्धान भइरहेको, अपराधीहरूलाई छिटो भन्दा छिटो सार्वजनिक गर्ने र पीडित परिवारलाई राहतका लागि पहल गर्ने बताएपछि पीडित परिवारले घटना भएको चार दिनपछि ०७५ साउन १४ गते शवको दाहसंस्कार गरेका थिए ।