बर्दिया जिल्ला अस्पताल गुलरियामा अपाङ्ग मैत्री बेड र शौचालय नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले उपचार सेवा लिन कठिनाइ भोग्नु परेको छ ।
५० शैया अस्पतालको बर्दिया अस्पतालमा अपाङ्ता भएकालाई बस्न मिल्ने एउटा पनि कमर्वोड जडित शौचालय छैन । विशेष अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई अस्पतालमा भर्ना गरेर उपचार गराउन विशेष सुविधा भएको बेडको व्यवस्था हुन नसक्दा झनै कठिनाइको सामना गर्नु परेको छ ।

गुलरिया नगरपालिका–९ रामपुरकी २८ वर्षीया मनिषा चनाराको कम्मर भन्दा तलको भाग चल्दैन । माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उहाँको कम्मर भन्दा तलको भाग नचल्ने भएपछि हुइल चेयरको सहारामा एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गर्नुहुन्छ । दिशा पिसाव गर्न उहाँलाई अरूको सहारा लिनु पर्छ ।
मनिसामा ०७८ असार १५ गते कोभिड—१९ सङ्क्रमण पुष्टि भए पछि बर्दिया अस्पतालमा भर्ना हुनु भयो । उपचार गराउँदा अपाङ्गता भएकै कारण सबैभन्दा बढी कठिनाइ भोग्नु परेको उहाँको गुनासो छ ।

अरुको सहारा बिना उठवस गर्न नसक्ने उहाँ अस्पतालमा अपाङ्ग मैत्री शौचालय र बेड नुहँदा स्वास्थ्यकर्मीको विशेष निगरानीमा उपचार सेवा पाउनबाट बञ्चित हुन पर्यो । १४ दिनसम्म घरबाटै अस्पताल आउने जाने गर्दा उहाँलाई स्याहार गर्ने बुवाआमा पनि सङ्क्रमित हुनुभयो ।
चनारा जस्तै कोभिड—१९ बाट सङ्क्रमिति भएका अन्य अपाङ्गता भएका व्यक्तिले पनि उपचारको क्रममा कठिनाइ भोग्नु परिरहेको बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्र बर्दियाका अध्यक्ष कृष्णहादुर क्षेत्रीले बताउनु भयो ।
बर्दिया जिल्ला अस्पताल गुलरियामा अपाङ्ग मैत्री बेड र शौचालय नभएको अस्पताल बिकास समितिका अध्यक्ष अंगद क्षेष्ठ स्वीकार गर्नुहुन्छ । तर त्यसको व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग माग गरी पठाइ सकेकोले यस वर्ष अपाङ्ग मैत्री बेड र शौचालयको व्यवस्थापन हुने उहाँले बताउनु भयो ।