सङ्घीय सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमार्फत् तोके बमोजिमको पारिश्रमिक नपाएको जिल्लाका शिक्षकहरूले असार २९ गते स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
अस्थायी बाल शिक्षक, विद्यालय कर्मचारी तथा सहयोगीले नेपाल सरकारले तोके बमोजिमको तलब नपाएको भन्दै जिल्लाका १० ओटै स्थानीय तह र शिक्षा विकास समन्वय इकाई समितिको ध्यानाकर्षण गराएका छन् ।
पाँच शिक्षक सङ्गठनहरूले संयुक्त विज्ञप्तिमार्फत् सङ्घीय सरकारले बढाएको पारिश्रमिक नदिएको भन्दै स्थानीय तहलाई ध्यानाकर्षण-पत्र बुझाएका हुन् । सङ्घीय सरकारले तोके बमोजिमको १५ हजार रुपियाँ तलब पाउनु पर्ने भएपनि असार समान्तसम्म जिल्लाका कुनै पनि स्थानीय तहले तलब नदिएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष शेरबहादुर पुरीले बताउनु भयो । उहाँले सङ्घीय सरकारले भने बमोजिम वृद्धि भएको तलब स्थानीय तहले दिनुपर्ने नियम भएपनि त्यस अनुसार तलब नपाएपछि स्थानीय तहमा ध्यानाकर्षण–पत्र बुझाएको बताउनु भयो ।
सङ्घीय सरकारले ०७८ जेठ १५ गते बजेटमार्फत बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीले पाउँदै आएको ६ हजार रुपियाँ तलब सुविधा वृद्धि गर्दै १५ हजार रुपियाँ पुर्याउने घोषणा गरेको थियो । सङ्घीय सरकारले बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीको मासिक तलब न्यूनतम १५ हजार रुपियाँ तोके पनि कार्यान्वयन भने हुन सकेको छैन ।
तोकिएको तलब मध्ये २ हजार रुपियाँ सङ्घीय सरकारले र ७ हजार रुपियाँ स्थानीय तहले थप गर्नुपर्ने उल्लेख छ । सङ्घीय सरकारले तोके अनुसारको तलब सुनिचिश्तता हुने गरी १० ओटै स्थानीय तहले सरकारले तोके बमोजिम तलब माग गरेको शिक्षक महासङ्घका अध्यक्ष पुरीले बताउनु भयो । सङ्घीय सरकारले तोके बमोजिमको तलव वृद्धिका लागि स्थानीय तहसँग समन्वयका लागि शिक्षा विकास समन्वय इकाईलाई समेत आग्रह गरेको अध्यक्ष पुरीको भनाइ छ । श्रम सङ्गठनले निर्धारण गरेको पारिश्रमिक भन्दा कम भएको भन्दै नेपाल शिक्षक महासङ्घ तथा शिक्षकका पेशागत सङ्घ सङ्गठनहरूले बारम्बार आवाज उठाउँदै आएको भएपनि मागप्रति बेवास्ता गरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने शिक्षक सङ्गठनहरूले जनाएका छन् ।
खाँदबारी नगरपालिकाले आगामी पुसको बजेटबाट प्रारम्भिक बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीका लागि मनोबल उच्च राख्न सेवा सुविधा वृद्धि गरिने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताउनु भयो । सङ्घीय सरकारले तत्काल २ हजार रुपियाँ मात्र थप्ने र अन्य बाँकी रकम स्थानीय सरकारले ब्यवहोर्नु पर्ने भएपनि त्यो सबै स्थानीय तहको आर्थिक हैसियत नभएका कारण तलव वृद्धि गरेर दिन सक्ने अवस्था नभएको खाँदबारी नगर शिक्षा शाखाका प्रमुख दीपकमणि घिमिरेले बताउनु भयो । तलब वृद्धि गर्ने विषयमा खाँदबारी नगरपालिका सङ्घीय सरकारको अन्तिम निर्णय र सिङ्गो निर्देशिका नआए सम्म पर्ख र हेरको स्थितीमा रहेको शिक्षा शाखा प्रमुख घिमिरेले बताउनु भयो ।
सङ्घीय सरकारले पुस महिनासम्म पनि केही गरेन भने पनि खाँदबारी नगरपालिकाको तर्फबाट उचित केही न केही सम्बोधन गरिने नगरप्रमुख मुरारीप्रसाद खतिवडाको भनाइ छ । अस्थायी बाल शिक्षक, विद्यालय कर्मचारी सहयोगीका लागि उचित सुविधा वृद्धिका लागि शिक्षा सम्बन्धी नियम समेत पास गरीसकेको नगरप्रमुख खतिवडाको भनाइ छ ।
