लोहरपट्टी नगरपालिका–७ भमरपुरा बस्ने २६ वर्षीया सुजिता ठाकुरलाई परिवारजनले हत्या गरेको भन्दै मृतकका माइती पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता गरिएको प्रहरीले जनाएको छ ।
यसअघि असार ४ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी एसपी दिनेश आचार्यले दर्ता गर्न नमानेको समाजिक अभियन्ता गुन्जा रायले आरोप लगाउनु भयो । असार ६ गते प्रहरीले सुजिताको खोजविनको लागि मात्र निवेदन लिएको थियो ।
जेठ २० गतेदेखि सम्पर्कविहीन रहेकी सुजिताको शव असार १३ गते खोजविन गर्ने क्रममा खेतमा गाडिएको अवस्थामा फेला पारेको पीडित पक्षको भनाइ छ ।
खाल्डोबाट भेटिएको कपाल र कुहिएर शवको अवशेष सुजिताको हो कि होइन भन्ने विषयमा एसपी दिनेश आचार्यले डिएनए रिपोर्ट आएपछि मात्र पुष्टि हुनसक्ने बताउनु भयो ।
उजुरी दर्ता गराउन सुजिताका बुबा कामेश्वर पाण्डे सहित आमा, भाइ, अभियन्ता सरोज राय, गुन्जा राय, सविता यादव, मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव समेत रहेका पत्रकार रञ्जन भण्डारी, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह लगायतको टोली जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।
दोषी कुनै पनि हालतमा उम्किन पाउँदैनः डिआइजी रञ्जितकार
प्रदेश २ का डिआइजी उमेश रञ्जितकारले सुजिता हत्याका दोषी कुनै पनि हालतमा उम्किन नपाउने बताउनु भएको छ ।
उहाँले भन्नु भयो–‘तपाईँहरू ढुक्क भएर जानुस्, डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा अनुसन्धान हुँदैछ र दोषी कुनै पनि हालतमा उम्किन पाउंँदैन ।’
मुकेश ठाकुरकी पत्नी सुजितादेवी ठाकुर जेठ १९ गतेदेखि सम्पर्कविहीन भएको पीडित पक्षले जनाएको छ ।
शङ्काका आधारमा माइती पक्षले दावी गरेको स्थान मै असार १३ गते सडेगलेको अवस्थामा महिलाको शव भेटिएको पीडित पक्षको आरोप छ । खेतमा खनेर हेर्दा खाल्डोमा कपाल, नुन, मलखाद, डोरी र गलेको शरीरको अवशेष भेटिएको थियो ।
हत्या गरेको आरोपमा सुजिताका २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।
घटनाका शङ्कास्पद व्यक्तिहरु माथि अनुसन्धान भइरहेको छ भने सुजिताको ससुरा, सासू र देवरानी फरार रहेको प्रहरीले जनाएको छ ।