INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

बर्जु गाउँपालिका–१ रामगञ्ज बेलगछियास्थित नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ३८ वर्षीय रञ्जन मण्डललाई विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर सोही वडाका वडाध्यक्ष ५२ वर्षीय श्याम गुरुङले असार १४ गते कुटपिट गरेको आरोपमा पीडितले असार १६ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

पीडित प्रधानाध्यापक मण्डलले व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्यहरू छनौट भएको र शिक्षक प्रतिनिधिसमेत छनौट भईसकेको अवस्थामा गणपुरक सङ्ख्या र अध्यक्ष कसलाई बनाउने भन्ने विषयलाई वडाध्यक्ष गुरुङले कुटपिट गर्नुका साथै माटो दलेर दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिनु भएको इन्स्पेक्टर घगेन्द्रगाह खजुङ्गले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । इन्स्पेक्टर खजुङ्गले पीडित पक्षको उजुरी पश्चात आरोपित पक्षसँग घटनाको विषयमा वास्तविकता बुझी कारबाही अघि बढाउने भयो ।

शिक्षा ऐन,२०२८ को आठौँ संशोधन ०७३ असार १५, सर्वोच्च अदालतको ०७३ भदौ २६ गतेको आदेश र शिक्षा ऐनको दफा १२ बमोजिम विद्यालय व्यवस्थापन समिति गठनको नियमअनुसार नौ सदस्यीय समितिका लागि गणपुरक सङ्ख्या पुगेको अवस्थामा आरोपित गुरुङले चार जना सदस्य गुरुङ नै भएको र एक जना अध्यक्ष गुरुङ नै हुनुपर्छ भनि विवाद निकालेर आफूलाई कुटपिट गरेको प्रधानाध्यापक मण्डलको आरोप छ ।

शिक्षक मण्डलले वडाध्यक्ष गुरुङ र उहाँका सहयोगीहरू बर्जु गाउँपालिका–१ का मदन गुरुङ, टेकबहादुर गुरुङ, देवु गुरुङ र शिक्षक प्रतिनिधि शङ्कर गुरुङले छाती, पेट र पिठ्यूमा लात्ती र मुक्काले हिर्काएको बताउनु भयो । पीडितले बर्जु गाउँपालिका–२ स्थित सीतागञ्ज स्वास्थ्य चौकीमा असार १४ गते प्राथमिक उपचार गराएको बताउनु भयो ।

पीडित मण्डलले आफूमाथि हातपात भएको विषयमा गाउँपालिका अध्यक्ष रघुन्दन चौधरीलाई मौखिक जानकारी गराएको बताउनु भयो । गाउँपालिका अध्यक्ष चौधरीले पीडितले घटनाको विषयमा जानकारी गराएको र घटनाको वास्तविकता बुझि दोषीलाई कारबाही गर्ने बताउनु भयो ।

निर्वाचित सदस्यहरूले आफूलाई वडाध्यक्षको रूपमा अघि सारेको र आफूले इच्छा व्यक्त गरेपछि प्रधानाध्यापक मण्डलले समिति गठन गर्न नमान्दा विवाद भएपनि प्रअ मण्डललाई कुटपिट र दुर्व्यवहार भने नगरेको घटनाका आरोपित वडाध्यक्ष श्याम गुरुङको भनाइ छ ।

अन्य

भिडियो