INSEC Online

📅 २०८३ जेष्ठ २१

चोरीको आरोपमा बालकलाई हिरासतमा लिएर यातना, पीडित पक्षद्वारा प्रहरी, प्रशासन र आयोगमा उजुरी

शहीदनगर नपा–४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डितलाई असार १२ गते इलाका प्रहरी कार्यालय यदुकोहाले हिरासतमा लिएर यातना दिएको भन्दै पीडित पक्षले असार १३ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।

इलाका प्रहरी कार्यालय यदुकोहाको हिरासतमा गरिएको कुटपिटका कारण बेहोस भएपछि प्रादेशिक अस्पताल जनकपुरमा असार १२ गते उपचार गरिएको पीडितका काका बिन्देश्वर पण्डितले जानकारी दिनु भयो ।

चोरी घटनाको बारेमा सोधपुछ गर्न भनेर इलाका प्रहरी कार्यालय यदुकोहामा लगेर प्रहरीले पाइपले कुटपिट गरेको पीडितका काका विन्देश्वरले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

यदुकोहाका मनिष गुप्ताको घरमा दैनिक रुपमा दुध पुर्‍याउने गरेकामा असार १२ गते समेत दुध पुर्‍याएर आएको तर दिउँसो १२ बजे प्रहरीले चोरी घटनाबारे बुझ्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको पीडितका बुबा शत्रुधन पण्डितले बताउनु भयो ।

प्रहरीको कुटाइबाट बालकको दुबै पैताला, हातको औँला, गोडाको औँला सुन्निएको र तिघ्रामा पाइपको निलडाम देखिएको छ ।

पीडितका बुबा शत्रुधन पण्डितले घरमा आफूहरू नभएको बेला छोरालाई प्रहरी चौकीमा लगेर कुटपिट गरेर अन्याय भएको बताउँदै न्यायको लागि पहलका लागि अधिकारकर्मीलाई आग्रह समेत गर्नु भएको छ ।

इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर संवित भण्डारीले चोरी भएको घरको सीसीटिभी फुटेजको आधारमा सोधपुछ गरिएपनि कसैले कसैलाई कुटपिट नगरेको दावी गर्नु भएको छ ।

अन्य

भिडियो