काठमाडौँ महानगरपालिका–७ कालोपुलस्थित गुरूङटोलकी २७ वर्षीया सन्तोषी सुब्बालाई बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थायी घर भएका २९ वर्षीय सुरेश तिमिल्सिनालाई प्रहरीले असार १० गते गिरफ्तार गरेको छ ।
सन्तोषीको शव दक्षीणकाली नगरपालिका–८ दक्षिणकाली बसपार्क नजिक रहेको पुरोनो शौचालयमा असार ८ गते सलले घाँटी कसेर अनुहारमा ढुङ्गाले हानेर क्षतविक्षत पारेको अवस्थामा फेला परेको थियो ।
सन्तोषी असार ५ गते घरबाट हिँडेपछि असार ६ गते घर फर्कने जानकारी दिएको धनबहादुर तामाङले बताउनु भयाे । तामाङले सन्तोषीलाई सानै उमेरदेखि धर्म छोरीको रूपमा पालनपोषण गर्दै आएको बताउनु भयो ।
चराचुरङ्गीको आवाज नक्कल गर्ने र घर बाहिर गइरहने हुँदा धनबहादुरले असार ६ गते घर नफर्किए पनि सन्तोषीको खोजी गर्नु भएन ।
असार ६ गते दक्षिणकाली बसपार्कको एक होटलमा चिया खाजा खाने क्रममा चिनजान भएका तिमिल्सिनाले साँझपख बसपार्कको जङ्गलमा लगि बलात्कार गर्ने प्रयास गरेको र सोको प्रतिकार गर्दा हत्या गरेको प्रहरीमा बयान दिएको महानगरीय अपराध महाशाखाका डिएसपी कृष्ण पङ्गेनीले बताउनुभयो ।
यौनसम्बन्ध राख्न नदिएपछि सलले घाँटी थिचेर हत्या गरेपछि पहिचान खुल्ने डरले आरोपितले मृतकको अनुहारमा ढुङ्गाले हिर्काएर क्षतविक्षत बनाएको अनुसन्धानको क्रममा खुलेको डिएसपी पंगेनीले बताउनु भयो ।
शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार ९ गते गरिएको छ ।