अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा डिसिए र सिसु परियोजनाको सहयोगमा असार ११ गते नेपालगञ्जमा मानव अधिकार सहायता कक्षका १३ जना सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा अग्रपङ्क्तिमा रहेर काम गर्ने मानव अधिकार रक्षक सहायता कक्षका सदस्यहरूलाई स्वास्थ्य सामग्रीले कोभिड सङ्क्रमणको अवस्थामा सुरक्षित रहन मद्दत पुग्ने बताउनु भयो ।
उहाँले थर्मोमिटर एक थान, मास्क दुई बट्टा, अक्सिमिटर एक थान र सेनिटाइजर रहेको स्वास्थ्य किट वितरण गर्नु भएको थियो ।
इन्सेक लुम्बिनी प्रदेशका संयोजक महतले मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिनको लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

अधिकारकर्मी बसन्त गौतमले कोभिड कहरमा आम नागरिकको स्वास्थ्यलगायत बाँच्न पाउने अधिकारको संरक्षणका लागि अधिकारकर्मीहरूले अग्रपङ्क्तिमा रहेर काम गरेको उल्लेख गर्दै अधिकारकर्मीहरूले आम नागरिकको आधारभूत मानव अधिकार संरक्षणका लागि एक आपसमा समन्वय र सहकार्यलाई अझै प्रभावकारी बताउनु पर्नेमा जोड दिनु भयो ।