२४ वर्षीया रुपा सुनारलाई जातकै आधारमा आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीय सरस्वती प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यालयले असार ९ गते रिहा गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयो ।
अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको र सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको सिंहले बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद सञ्जेलले थप अनुसन्धान गरेर ल्याउन भनिएको टेलिफोन मार्फत जानकारी दिनुभयो ।
“सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर मानिसलाई फेरि अनुसन्धान प्रतिवेदनसाथ पेश गर्न भनेर पठाएका हौँ । प्रहरीले मन लाग्यो भने राख्न पनि सक्छ, छोड्न मन लागे छाड्न पनि सक्छ र म्याद थपेर लिन पनि सक्छ, ।”
सञ्जेलले भन्नुभयो, – अहिले फोरेन्सिक टेस्ट गर्नुपर्ने भएको छ । त्यसमा समय लाग्ने भएकोले अनुसन्धानमा नभ्याउला भनेर मानिसलाई आवश्यकताअनुसार हाजिर जमानी वा धरौटीमा छाड भनेको पनि हो ।” यो विषयमा मुद्दा चल्ने÷नचल्ने निर्णय भइनसकेको समेत उहाँले जानकारी दिनु भयो ।
यस मुद्दामा प्रहरीले जाहेरीवालाले पेश गरेको अडिओ रेकर्ड को कसको सीममा प्रयोग भएको हो र त्यसको प्रदायक कम्पनीबाट कागजातलगायत डिटेल लिएर आऊ र आवाजसहितको पहिचान गरी फोरेन्सिक रिपोर्ट पेश गर्न भनिएको सञ्जेलले बताउनुभयो ।