INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

कटहरी गाउँपालिका–२ का ५० वर्षीय सञ्जयकुमार करवाले कुटपिट घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाउनु भएको छ ।

कटहरी गाउँपालिका–३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले जेठ ३० गते कुटपिट गरेपछि आफूले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा असार ३ गते आरोपितविरूद्ध उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको पीडितले बताउनु भयो ।

पीडितले पुरानो विषयलाई लिएर आरोपितले जेठ ३० गते कुटपिट गरेको बताउनु भयो । कुटपिटबाट करवाको टाउकोमा चोट लागेको छ ।

पीडितले सोही दिन गोल्डेन अस्पतालमा उपचार गरेको बताउनु भयो । आरोपितद्घयले टाउकोमा ढुङ्गा प्रहार गर्दा टाउकोमा गहिरो चोट लागेको र ६ ओटा टाँका लगाइएको पीडितले असार ६ गते पत्रकार सम्मेलनमा बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाका विषयमा पीडित पक्षबाट उजुरी नआएको बताउनु भयो । उहाँले “उजुरी आएको खण्डमा प्रहरीले दर्ता नगर्ने भन्ने नै हुँदैन” इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नु भयो ।

पीडित सञ्जयकुमार करुवाले प्रहरीले उजुरी दर्ता गर्नुको सट्टा मिलापत्र गर्न दबाब दिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले उजुरी नलिँदा आफू असुरक्षित भएको पीडित करवाको भनाइ छ ।

Photo 20210620 1 Morang Photo 20210620 Morang

अन्य

भिडियो