INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर तिलोत्तमा नपाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम असार २ गते सार्वजनिक गरेको छ ।

मेयर बासुदेव घिमिरेले दशौं नगर सभाको पहिलो बैठकमा ‘समृद्ध नगरः खुशी नगरवासी’ लक्ष्य आधारित नीति तथा कार्यक्रममा बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी,  जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई सम्मान, सङ्क्षण र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको बताउनु भयो ।

कोभिडका कारण आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भइरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रममा सबै नगरवासीलाई कोभिड विरूद्धको खोपको पहुँचमा पुयाउन खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

यसैगरी, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधा सम्पन्न बनाउदै ७० वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रमले समेटेको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने विद्यालयमा स्वच्छ खानेपानी, इन्टरनेट सेवा, कोभिड सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा समेत गरेको छ ।

पहेलो कार्ड प्राप्त गरेका अपाङ्गता व्यक्ति कुनै सरकारी सुविधा प्राप्त नगरेकालाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार रुपियाँ  सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको छ । अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग व्यवसायमा लाग्ने करमा शत प्रतिशत छुट दिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ ।

भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित आवास गरेकाहरूलाई जग्गाको स्वामित्व प्रदान गर्न सुकुम्वासी समस्या समाधान आयोगसँग कार्य सम्झौता गरी लगत सङ्कलन गरिएको र जग्गा नापजाँचको लागि आवश्यक तयारी अघि बढिसकेकोमा आगामी आर्थिक वर्षमा त्यसलाई सम्पन्न गराउन प्राथमिकता दिइने मेयर घिमिरेले बताउनु भयो ।

नगरपालिकाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अति विपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर  २ लाख रुपियाँ  अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

अन्य

भिडियो