INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा राउटे समुदायमा अनुगमन तथा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा लोपोन्मुख राउटे समुदायको अनुगमन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

इन्सेकको नेतृत्व र राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल तथा जिल्ला बार एशोसिएशन सहितको टोलीले जेठ २८ गते गुर्भाकोट नगरपालिका- ९ सिमघाट स्थित राउटे बस्तीमा स्थलगत अनुमनका साथै उक्त समुदायका अगुवासँग समस्याका विषयमा छलफल गरेको हो ।

अनुगमनका क्रममा राउटे बस्तीमा विभिन्न स्वास्थ्य समस्या देखिएको, शिक्षामा पहुँच नभएको तथा घुमन्ते जिवन विताउने र घर नहुने भएको कारण असुरक्षा देखिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

उक्त टोलीले २९ गते कर्णाली प्रदेश सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद भट्टसँग भेट गरेर राउटेका समस्या समाधानका लागि उपयुक्त राउटे नीति निर्माण गर्न अनुरोध गरिएको संयोजक सुवेदीको भनाइ छ ।

गत वर्षमा राउटेको सङ्ख्या एक सय ४५ रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले पछिल्लो समय गणना नगरिएकोले जन्मिने र मर्ने घटनाक्रमका कारण उक्त तथ्याङ्क परिवर्तन भएको हुनसक्ने बताउनुभयो ।

साथै राउटेको सांस्कृतिक अधिकारलाई संरक्षण गर्दै वस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन, खाद्यान्न उलब्ध गराउन, सरसफाइ लगाएतका विषयमा आवश्यक परामर्श दिन र शिक्षामा पहुँच तथा सुरक्षाको प्रत्याभूतिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो ।

सामाजिक विकास मन्त्री विसीले राउटे समुदायको शिक्षा, स्वास्थ्य, खाद्य तथा सुरक्षाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउन आवश्यक देखिएकोले त्यसतर्फ उपयुक्त कदम चालिने धारणा राख्नुभयो ।

अन्य

भिडियो