INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

लुम्बिनी प्रदेशको आव २०७८/७९ को नीति तथा कार्यक्रम  प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रस्तुत गर्नु भएको छ । प्रस्तुत कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहेको छ ।

कार्यक्रममा कोभिड–१९ लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधि, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्दै लग्ने, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने, न्यूनतम सेवा मापदण्ड तयार गरी स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने, प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वास्थ्य संस्थाहरूको पुनःसङरचना गर्ने नीति तथा कार्यक्रम अगाडि सारिएका छन् ।

स्तरोन्नति भएका ५० शैय्याका अस्पतालहरूमा पर्याप्त पूर्वाधार सहित विशेषज्ञ सेवा सञ्चालन, विस्तार र आकस्मिक स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुको साथै दुर्गम क्षेत्रहरूमा विशेषज्ञ सेवा सहितका स्वास्थ्य शिविरहरू सञ्चालन गरिने, सामाजिक सेवा इकाइ र एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र सेवा प्रभावकारी बनाइने, आपतकालीन अवस्थाका गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स, साथै जोखिममा रहेका दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाई निःशुल्क हवाई उद्वार गर्ने व्यवस्था मिलाइने,  प्रसुतिको चाप बढी भएका जिल्लास्थित अस्पतालमा नवजात शिशुको जीवन रक्षाका लागि एनआईसीयुका साथै गर्भवती महिलाको युएसजी लगायतका परीक्षणहरू निःशुल्क गरिने, नवजात शिशुहरूको जन्मजात रोगहरूको पहिचान गरिनुका साथै मातृ तथा शिशु रुग्णता र मृत्युदरमा कमी ल्याउन तालिमहरू सञ्चालन गरिने, प्रदेश अन्तर्गतका सबै अस्पतालहरुमा एचडियु स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधि उत्पादन र वितरण कार्यलाई थप प्रभावकारी बनाइने, आयूर्वेद तथा प्राकृतिक चिकित्सा, योग लगायत अन्य बैकल्पिक चिकित्सा पद्धतिहरूको आधारभूत, बिशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गर्ने, अन्य वैकल्पिक चिकित्सा पद्धतिको विकास र विस्तार गर्ने, लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद औषधि उत्पादन केन्द्रको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ ।

“निःशुल्क रक्तसञ्चार सेवा प्रदान, स्वस्थ लुम्बिनीको पहिचान” अभियान सञ्चालन गरी सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट रक्तसञ्चार सेवा निःशुल्क रुपमा प्रदान गर्ने, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा समावेश गरी विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने प्रमुख यादवले बताउनु भयो ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २०७८/०७९ पढ्नका लागि यहाँ क्लिक गर्नु होला

अन्य

भिडियो