इन्सेकले वैशाख महिनामा ५७ जना महिला र ३९ जना पुरुष गरी ९६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ ।
जेठ ७ गते वैशाख महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ वैशाख महिनामा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी ९६ जना पीडित भएका र चार ओटा भौतिक संरचनामा क्षति पुर्याएको जनाएको हो ।
‘प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा सबै प्रदेशभन्दा बढी २३ जना पीडित भए भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चार जना पीडित भए । प्रदेश २ मा २२ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश १ र कर्णाली प्रदेशमा १२/१२ जना, तथा लुम्बिनी प्रदेशमा १० जना पीडित भए । वैशाखमा कारागारमा दुई जनाको मृत्यु भएको छ । यही अवधिमा एक जना शिक्षकको हत्या भएको समाचार पनि प्रकाशित छ ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।
वैशाखमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ४० जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा १२ जना पीडित भए ।
यो अवधिमा परिवारजनबाट चार जना महिलाको हत्या र एक जना महिलाको बलात्कारपछि हत्या भएको विश्लेषणमा उल्लेख गरिएको छ ।
प्रकाशित समाचारमा दुई जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको, कुटपिट र दुव्र्यवहारका घटनामा चार/चार जना, धम्कीका घटनामा तीन जना, अमानवीय व्यवहारका घटनामा दुई जना तथा झडप र अन्य घटनामा ११ जना घाइते भएका भनी विश्लेषणमा देखाइएको छ ।
‘यो अवधिमा भौतिक संरचना क्षतिका चार ओटा घटना पनि प्रकाशमा आए । उपचार अभावमा एक जना महिला र सात जना पुरुषको मृत्यु भएका समाचार वैशाखमा प्रकाशन भए । कोभिड–१९ को महामारीका बिच अस्पतालहरूमा उपचार अभाव भएका घटनाहरू बढेका हुन् ।’–विश्लेषणमा उल्लेख छ ।
वैशाख महिनामा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । केही समययता घटेको सङ्क्रमण पुनः बढेको हो । एक महिनाको अवधिमा १ लाख ५८ हजार ९४ जना सङ्क्रमित थपिए ।
यो अवधिमा परीक्षण ४ लाख ७ हजार ५ सय ५१ ओटा स्वाबको परीक्षण भयो । निको हुनेको सङ्ख्या ५३ हजार २ सय ६ रह्यो भने थप १ हजार ६ सय ८ जना सङ्क्रमितको मृत्यु भयो । एक महिनाको अवधिमा महिला सङ्क्रमित बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
| तथ्याङ्कमा कोभिड-१९ (२०७८ वैशाख) | ||
| मिति र शीर्षक | वैशाख १ | वैशाख ३१ |
| परीक्षण | २३२५९५९ | २७३३५१० |
| सङ्क्रमित | २८१५६४ | ४३९६५८ |
| सक्रिय सङ्क्रमित | ४०५६ | १०७३३६ |
| निको | २७४४४७ | ३२७६५३ |
| निको दर | ९७.५ | ७४.५ |
| मूत्यु | ३०६१ | ४६६९ |
| लिङ्गका आधारमा सङ्क्रमित (प्रतिशतमा) | ||
| महिला | ३५.२२ | ३७.९९ |
| पुरूष | ६४.७८ | ६२.०१ |