धौलागिरी अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू समस्यामा परेका छन् ।
अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थाहरूमा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् ।
हप्ताको दुई दिन आइतबार र बुधबार त गर्भवती महिलाको नियमित चेकजाँचगर्ने भएकाले त्यो सङ्ख्या बढेर झण्डै सय पुग्ने गरेको छ ।
तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू मर्कामा परेका छन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेकी एक गर्भवती महिला कोभिड महामारीकै बिच नियमित चेकजाँजको लागि धौलागिरी अस्पताल पुग्नुभएको थियो ।
चेकजाँचको क्रममा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्न सुझाव दिनुभयाे ।
‘सुत्केरी हुने समय नजिकिएको छ, डाक्टरले भिडियो एक्सरे गर्नुस भनेर कागजमा लेखिदिएका छन्,’–महिलाले भन्नुभयो–‘अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै छैनन् रे, यो कोभिड महामारीकोबिचमा कहाँ जाने ?’
धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट करारमा खटाइएका एक जनामात्र रेडियोलोजिस्टले भिडियो एक्सरे गर्दै आउनुभएकाे थियाे ।
अस्पतालमा कार्यरत रहेका एक जनामात्र रेडियोलोजिष्ट केही दिन बिदामा बस्दा मात्रै ठुलो समस्या सिर्जना हुन्थ्यो । तर, यति बेला अस्पतालबाट बिदा मागेर जानुभएका उहाँले इमेल मार्फत राजीनामा पठाएपछि अस्पतालको सेवा प्रभावित मात्र होइन, थप अन्योलमा परेको छ ।
उनी वैशाख ८ गतेबाट बिदामा बसेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।
‘अस्पतालमा एक जना मात्र रेडियोलोजिष्ट हुनुहुन्थ्यो, बिदामा बस्नुभएका उहाँले पनि इमेल मार्फत राजीनामा पठाउनुभयो ।’–उहाँले भन्नुभयो–‘यतिबेला अस्पतालको सम्पूर्ण टिम कोभिड सङ्क्रमितको उपचार र व्यवस्थापनमा खटिएको छ, पूर्व जानकारी बिना उहाँले दिएको राजीनामाको कारण सिङ्गो अस्पतालको सेवा प्रभावित बनेको छ ।’
कोभिड महामारीको बिचमा अस्पतालको एक मात्र रेडियोलोजिष्ट नहुँदा दैनिक सयौ बिरामी प्रभावित बनेको भन्दै प्रदेश मन्त्रालयमा जानकारी गराएपनि तत्काल समस्या समाधानको उपाय नदेखिएको डाक्टर पोखरेलको भनाइ छ ।