हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका २१ वर्षीय असलम हुसेनले पसल सञ्चालन गरेको भन्दै प्रहरीले जेठ २ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासनले निषेध आदेश जारी गरेपनि प्रशासनले तोकेको समयमा पसल सञ्चालन गर्दा प्रहरीले जेठ २ गते बिहान १० बजे आफ्नै पसलमा थुनेर कुटपिट गरेको पीडितले बताउनु भएको छ ।
निषेध आदेश भएको १६ औँ दिनका दिन तोकिएको समयमा किराना पसल सञ्चालन गर्दा प्रहरीले आफ्नै दोकानभित्र सटर बन्द गरेर कुटपिट गरेको पीडितको भनाइ छ ।
निषेध आदेशको अनुगमनमा खटिएको प्रहरी टोलीले अरू पसल सञ्चालकलाई केही नभनि आफूलाई लठ्ठी र लात्तीले जथाभावी कुटपिट गरेको पीडित हुसेनको आरोप छ ।
प्रहरीले नातीलाई कुटपिट गरेको विषयमा आफूले सोधीखोजी गर्दा आफूलाई समेत कुटपिट गरेको ६९ वर्षीय करामुल हुसेनले बताउनु भयो ।
प्रहरीको कुटपिटबाट हुसेनको पिठ्यू र हातमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा निषेध आदेशको समयमा धेरै ओटा प्रहरी टोली परिचालन भएकाले कुन टोलीले कुटपिट गरेको हो वा होइन भन्ने विषयमा आफूलाई जानकारी नआएको बताउनु भएको छ ।