INSEC Online

📅 २०८३ जेष्ठ २३

उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन गरः इन्सेक

उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड सङ्ख्या थप गर्नुपर्ने लगायतका मागसहित इन्सेकले सरकारको ध्यानाकर्षण गराएको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा वैशाख ३० गते जारी अपिलमा सो मागसहित स्थानीय तहलाई कोरोना परीक्षण तथा आइसोलेशन निर्माणका लागि सकृयता बढाउन आग्रह गरिएको छ ।

कोभिड १९ को सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको दोस्रो लहरका कारण नेपालमा यसले विकराल रूप लिएको छ ।

‘सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएका समाचार र इन्सेकले गरेको अनुगमनमा देशैभरका स्वास्थ्य संस्थामा अक्सिजन अभाव तथा स्वास्थ्य संस्थामा शैया नपाएर बिरामीको मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचनालाई विश्लेषण गर्ने हो भने सङ्क्रमणको जोखिम दिनप्रतिदिन बढेर गएको छ र यसमा कमी आउने देखिएको छैन । देशका ७३ जिल्लाका प्रशासन कार्यालयहरूले निषेध आदेश जारी गरेका छन् ।’-अपिलमा भनिएको छ ।

अपिलमार्फत इन्सेकले अगाडि सारेका मुख्य सरोकारहरू

  • नेपालमा रहेका अक्सिजन प्लान्ट बिनाअवरोध सञ्चालन गरी अस्पतालहरूमा सहज आपूर्तिको व्यवस्था मिलाउनु पर्छ । चिकित्सकहरुका अनुसार धेरै जसो संक्रमितहरूलाई अक्सिजन उपलब्ध गराउन सकियो भने जीवन जोगाउन सकिन्छ ।
  • सरकारले घोषणा गरेको १ हजार शैयाको कोभिड अस्पताल निर्माण कार्यमा तदारुकता देखाउनु पर्छ ।
  • उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड संख्या थप गर्न आवश्यक छ ।
  • स्थानीय तहले कोरोना परीक्षण तथा आइसोलेसन निर्माणका लागि सकृयता बढाउनु पर्छ ।
  • फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा तथा सुविधामा ध्यान दिनु जरुरी छ ।
  • महामारीको अवस्थालाई ध्यानमा राखी बन्दाबन्दीको कडाइका साथ लागु गर्नु पर्छ ।
  • महामारीमको यस अवस्थामा सहयोग गर्न सरकारले अन्तरराष्ट्रिय दाताहरूलाई आह्वान गर्नु पर्छ ।
  • धेरै जसो संक्रमितहरू होम आइसोलेशनमा छन् । उनीहरुसँग नियमित परामर्श गर्ने सयन्त्रको विकास गरिनु पर्छ ।
  • भयावहरुपमा फैलिएको महामारीका बीचमा पनि कालोबजारी र भ्रष्टाचार भएको भनि संचारमाध्यममा प्रकाशित समचारप्रति हाम्रो ध्यान गम्भिर रुपमा आकृष्ट भएको छ । यस सम्बन्धि छानविन र दोषीउपर कडा कारबाही गरिनु पर्दछ ।
  • आफ्ना कार्यकर्ताहरूको परिचालन गरी महामारी नियन्त्रणमा सघाउन राजनीतिक दलहरूले सकृयता देखाउनु पर्छ ।
  • महामारीको रोकथामको एउटै विकल्प भनेको खोप नै हो । खोपको उपलब्धताका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।
  • नागरिकले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु पर्छ ।

अपिल पढ्नका लागि यहाँ क्लिक गर्नुहोला 

अन्य

भिडियो