शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कैद सजायसँगै २ लाख रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ २० गते गिरफ्तार गरी जिल्ला अदालत चैनपुरमा माघ २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको थियो ।