ठूलीभेरी नगरपालिका –१० स्थित कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभावमा ३ देखि ५ कक्षासम्मका बालबालिकाहरूलाई एउटै कोठामा राखेर पठन पाठन गराउनु परेको शिक्षकहरूले गुनासो गरेका छन् ।
०३१ सालमा स्थापना भएको विद्यालयको चार कोठे भवन छ । ‘एउटामा अफिस छ । तीनवटा कोठामा एक देखि पाँच कक्षा सम्मका बालबालिका पढ्छन’ प्रधानाध्यापक अनिरूद्र मण्डलले भन्नुभयो, ‘कक्षा कोठा ठूला भएको भए बहुकक्षा शिक्षण गर्न पनि सकिन्थ्यो तर साना कोठा त्यसैमा पनि जीर्ण भवन भएकाले पठन पाठनमा समस्या भएको छ ।’
ठूलीभेरी नगरपालिकाको दुर्गम मानिने यो विद्यालयमा कक्षा १ मा १२ जना, २ मा ४ जना, कक्षा ३ मा ९, कक्षा ४ मा ३ जना र ५ मा २ गरी ३० जना बालबालिका अध्ययनरत छन् । हिउँद र वर्षामा स्थानीयहरू विभिन्न ठाउँमा बस्ने भएकाले भौगोलिक कठिनाइका कारण विद्यार्थी भर्नादर पनि कम हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्र प्रसाद महतले बताउनु भयो ।

कक्षा कोठाको अभावबारे विभिन्न ठाउँमा अनुरोध गर्दा कतैबाट पनि सुनुवाई नभएको विव्यस अध्यक्ष महतको दुःखेसो छ । विद्यालयमा कक्षा कोठासँगै खानेपानी र शौचालयको पनि राम्रो ब्यवस्था नभएको कक्षा ५ मा अध्ययनरत विमला महतको भनाई छ ।
वडा नम्बर १० का अध्यक्ष गोविन्द प्रसाद महतले वडाको वजेटबाट खानेपानी र शौचालयको मर्मत गरिएको भएपनि भवन निर्माणको लागि पर्याप्त बजेट नभएको बताउनु भयो ।
अनुगमनका क्रममा उक्त विद्यालयमा भवन अभाव देखिएकोले आउँदो नगरसभामा पहिलो प्रथामिकतामा राखिने ठूलीभेरी नगरपालिकाका सामाजिक विकास शिक्षा संयोजक बिरमल कुमार भण्डारीले जानकारी दिनु भयो ।