तुलसीपुर उपमनपा–६ मा चार महिनादेखि पार्किङ गरी राखिएको भारतीय नम्बर आर जे ०१ सिसि ८८५ को जीप भित्र तुलसीपुर उपमनपा–६ का नौ वर्षीय सन्दीप परियार, सात वर्षीय सुवर्ण परियार र ६ वर्षीय करण परियार वैशाख १८ गते मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरले गाडी धनी तुलसीपुर उपमनपा–६ का ३१ वर्षीय यादवप्रसाद गैरेलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।
गाडी पार्किङ गरेको ठाउँमा गन्ध आउन थालेपछि स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृत भेटिएका बालकहरू वैशाख १६ गतेदेखि हराएको भन्दै अभिभावकहरूले वैशाख १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा निवेदन दिएको मृतक सन्देशका बुवा भीमबहादुर परियारले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले सन्देशको शव सिटमा बसेको अवस्थामा र सुवर्ण र करणको शव सिट मुनि भेटिएको बताउनु भयो ।
घटनको थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको अनुसन्धान टोली जिल्लामा आइपुगेको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार पोष्टमार्टमका लागि बुटवलबाट चिकित्सक बोलाइएको छ ।