बिरामी परेका बनगाड कुपिन्डे नपा–१ निवासी ४३ वर्षीय डिल्ली बहादुर बुढाले एम्बुलेन्स नपाउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको परिवारले गुनासो गरेका छन् ।
भारतबाट केही दिन अगाडी घर फर्केका मृतकको सञ्जिवणी सामुदायिक अस्पताल सल्लीबजारमा उपचार गरेर थप उपचारका लागि सुर्खेत लैजानु पर्ने भएपछि समयमै एम्बुलेन्स नआउँदा वैशाख १३ गते मृत्यु भएको मृतकका बुवा कुलबहादुर बुढाले जानकारी दिनुभयो ।
छोराको स्वास्थ्य अवस्था बिग्रिएपछि वैशाख १२ गते रातभर यातायातको साधनको जोह गर्ने प्रयास गरेको बताउँदै बुढाले भन्नुभयो ‘उपचारका लागि लिने साधन कतै नभेटिएपछि र आक्सीजनको समेत आवश्यकता पर्ने देखिएपछि एम्बुलेन्स खोज्दा खोज्दा छोराको ज्यान गयो ।’
जाँच नगरिएकोले कोरोना संक्रमण हो भन्न नसकिए पनि सबै लक्षणहरू कोभिड–१९ को जस्तै देखिएको परिवारको भनाई छ । नगरपालिका जस्तो क्षेत्रमा एम्बुलेन्स नपाइ ज्यान जानुपर्ने अवस्था गैर जिम्मेवारीपना भएको स्थानीय पुष्कर विसिको भनाइ छ ।
नगरपालिकाले भने आफूसँग एम्बुलेन्स हुँदाहुँदैपनि प्रयोग गर्न न पाएकोमा दुःख व्यक्त गरेको छ । नगर उप–प्रमुख मन्जु यरीले एम्बुलेन्स खरीद गरेको करिब एक महिना भएको तर कार्यविधि बनी नसकेकाले आपत्तकालीन अवस्थामा समेत एम्बुलेन्स प्रयोग गर्न नपाएको बताउनुभयो ।
उहाँले यस विषयमा नगर प्रमुख र कार्यपालिका सदस्यहरूसंग छिट्टै बैठक बसेर एम्बुलेन्स सञ्चालनमा ल्याउने बताउनुभयो ।