INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पका ६ वर्ष: लुम्बिनीमा प्रभाव पनि कम, पुनर्निर्माणको प्रगति पनि सुस्त

लुम्बिनीमा भूकम्पको प्रभाव पनि कम र पुनर्निर्माणको प्रगति पनि सुस्त रहेको जनाइएको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँचीमा आंशिक प्रभाव पारेको थियो ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार २०७२ सालको वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पबाट पाल्पामा व्यक्तिका घर तथा सरकारी सम्पत्तिहरूमा क्षति पुगेको थियो ।

भूकम्पका कारण पाल्पामा ५ हजार ७ सय ४२ ओटा घरमा पुर्ण आंशिक क्षति पुग्यो । जसमध्ये ४ हजार ९ सय २८ घरमा पुर्ण रूपमा क्षति भएको थियो । ८ सय १४ घरमा आंशिक क्षति भएको थियो ।

सरकारले भूकम्प लगत्तै व्यक्तिगत घर निर्माणका लागि पुर्ण क्षति भएका घरहरूका लागि तीन किस्तामा गरी प्रति घर ३ लाख रुपियाँ र आंशिक क्षति भएका घरहरूका लागि दुई किस्तामा गरी १ लाख रुपियाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

जसअन्तर्गत पुर्ण क्षति भएका ४ हजार ९ सय २८ लाभग्राही मध्ये जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयमा ४ हजार ४ सय १२ लाभग्राहीले नयाँ घर निर्माणका लागि सम्झौता गरेको कार्यालयका कम्प्युटर अपरेटर विष्णु पाण्डेले बताउनुभयो ।

पुर्ण क्षति भएका मध्ये ४ हजार ४ सय ६ लाभग्राहीले पहिलो किस्ता बापतको ५० हजार रुपियाँ लगेका छन् ।

त्यस्तै ३ हजार २ सय ५५ लाभग्राहीले दोस्रो किस्ता थप १ लाख ५० हजार लगेका छन् । पुर्ण क्षति भएकामध्ये घर पुनर्निर्माण कार्य सम्पन्न गरी २ हजार ७ सय ४ लाभग्राहीले थप ५० हजार रुपियाँ तेस्रो किस्ता गरी प्रति लाभग्राही ३ लाख रुपियाँ अनुदान लिएको पाण्डेले बताउनुभयो ।

त्यस्तै आंशिक तर्फ ८ सय १४ घर लाभग्राहीको रुपमा रहेकामा ४ सय २३ घरले कार्यालयमा सम्झौता गरेका छन् । जसमध्ये ४ सय १७ लाभग्राहीले पहिलो किस्ता ५० हजार रुपियाँ र एक लाभग्राहीले मात्रै घर प्रवलीकरण गरी अन्तिम किस्ता ५० हजार रुपियाँ समेत गरी १ लाख रुपियाँ अनुदान लिएको उहाँले बताउनुभयो ।

यसअघि आंशिक रुपमा रहेकोमा घर पुर्ण रुपमा भत्काएर बनाउनुपर्ने अवस्था रहेका थप ८४ घरलाई प्राविधिकको सिफारिसमा पुर्ण क्षतिमा राखिएको र जसमध्ये ८४ लाभग्राहीले नै पहिलो किस्ताको ५० हजार रुपियाँ, ४९ लाभग्राहीले दोस्रो किस्ता थप १ लाख ५० हजार रुपियाँ र ३३ लाभग्राहीले घर सम्पन्न गरी थप ५० हजार रुपियाँ गरी ३ लाख रुपियाँ अनुदान लिएको कम्प्युटर अपरेटर विष्णु पाण्डेले बताउनुभयो ।

भूकम्पका कारण पुर्ण र आंशिक गरी २ सय ६ ओटा विद्यालयमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका सूचना अधिकारी गुनबहादुर मल्लले बताउनुभयो ।

जसमध्ये १ सय ६ ओटा विद्यालयका ३ सय १६ कोठाको निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । दुई कोठे भवन ४५ ओटा विद्यालयमा, तीन कोठे भवन १८ ओटा विद्यालयमा, चार कोठे भवन ४३ ओटा विद्यालयमा निर्माण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

८३ ओटा विद्यालयमा २ सय ८९ कोठाको निर्माण कार्य चलिरहेको उहाँले बताउनुभयो । जसमध्ये दुई कोठे भवन १९ ओटा विद्यालयमा, तीन कोठे भवन पाँच ओटा विद्यालयमा र चार कोठे भवन ५९ ओटा विद्यालयमा पुनर्निर्माणको काम चलिरहेको र अधिकांश विद्यालय भवनको निर्माण कार्य ७५ प्रतिशत भन्दा बढी सम्पन्न भएको मल्लले बताउनुभयो ।

भूकम्पका कारण बगनासकाली गाउँपालिकाको स्वास्थ्य चौकीमा क्षति भएकोमा नयाँ भवन निर्माण कार्य सम्पन्न भई २०७७ फागुन महिनाबाट नयाँ स्वास्थ्य चौकीमार्फत सेवा प्रवाह समेत सुरु भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख टिका थापाले बताउनुभयो ।

भूकम्पका कारण पाल्पा कारागारको पुरुष बन्दी गृहको पुरानो भवनमा क्षति भएको थियो । गत बर्ष सोही स्थानमा नयाँ भवन निर्माण गरी बन्दीहरू नयाँ भवनमा बस्न थालेको कारागारकी जेलर भक्तिसरा थापाले बताउनुभयो ।

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार २०७२ सालको भूकम्पबाट जिल्ला अस्पताल सन्धिखर्क, प्राथामिक स्वास्थ्य केन्द्र ठाडा, गोखुगा स्वास्थ्य चौकी र ढिकुरा स्वास्थ्य चौकी गरी चार ओटामा क्षति भएको थियो ।

क्षति पुगेका सबै स्वास्थ्य संस्थाका संरचनाहरू निमार्णधिन अवस्थामा रहेको जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) पाल्पाका कम्युटर अपरेटर निरञ्जन कार्कीले जानकारी दिनु भएको छ ।

त्यसैगरी २ सय ८६ ओटा विद्यालयमा क्षति भएकोमा ८४ ओटा विद्यालय भवन निर्माण सम्पन्न भइसकेको, ६२ ओटा भवन निर्माणाधिन र १ सय ५३ ओटाको निर्माण तथा पुनर्निर्माण केही पनि नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँचीका इञ्जिनियर बसन्तकुमार चन्दले जानकारी दिनु भयो

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार ३ सय १३ ओटा विद्यालयका १ हजार २ सय ५२ कोठा भूकम्पबाट क्षति भएकामा १ सय २४ ओटा विद्यालयका १ सय ९५ कोठाको निर्माण कार्य सम्पन्न भएको छ ।

४३ ओटा विद्यालयमा सुविधा सम्पन्न शौचालय र आठ ओटा विद्यालयमा खानेपानीको समेत राम्रो व्यवस्था गरिएको छ ।

त्यसैगरी ६२ ओटा विद्यालयका २ सय ९ ओटा कोठाहरू, ३४ ओटा विद्यालयमा सुविधा सम्पन्न शौचालय र ३४ ओटा विद्यालयमा खानेपानी योजना निर्माण भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।

अब १ सय २७ ओटा विद्यालयका ७ सय ५४ ओटा कोठा निर्माण कार्य बाँकी रहेको पनि जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । त्यसैगरी १३ स्वास्थ्यचौकी र गुल्मी अस्पतालको निर्माण कार्य जारी रहेको जनाइएको छ ।

जिल्लामा ५ हजार २९ लाभग्राही रहेकामा ४ हजार ५ सय ६८ लाभग्राहीसँग सम्झौता भइसकेको, ४ सय ६१ लाभग्राहीसँग सम्झौता नभएको जनाइएको छ ।

सम्झौता भएकामध्ये ४ हजार ५ सय ६८ लाभग्राहीले पहिलो किस्ता, ३ हजार ५ सय ९९ लाभग्राहीले दोस्रो किस्ता र ३ हजार २० लाभग्राहीले अन्तिम किस्तासमेत बुझिसकेका छन् ।

जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) का अनुसार अन्तिम प्रगति ७१ प्रतिशत भएको छ ।

अन्य

भिडियो