INSEC Online

📅 २०८३ जेष्ठ २१

विनाशकारी भूकम्पका ६ वर्षः ९३ प्रतिशत उपलब्धि भएको दावी

विनाशकारी भूकम्प गएको वैशाख १२ गते ६ वर्ष पूरा भएको छ । यो अवधिमा पुनर्निर्माणको काममा ९३ प्रतिशत उपलब्धि भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दावी गरेको छ ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको विनाशकारी भूकम्पमा परी जीउधनको क्षति भएको थियो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१६ का अनुसार भूकम्प २०७२ मा परी ८ हजार ८ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाको मूल उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरी सोही प्राधिकरणमार्फत पुनर्निर्माणका काम गर्दै आएको प्राधिकरणले जनाएको छ ।

‘यो अवधिमा हामीले विपद्लाई अवसरका रूपमा उपयोग गरी भूकम्प प्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवम् पुरातात्विक सम्पदासहित ठूलो सङ्ख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्पप्रतिरोधी ढङ्गले पुनर्निर्माण गरिसकेका छौँ भने केही पुनर्निर्माणको अन्तिम चरणमा छन् ।’–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नु भयो ।

मुख्य उपलब्धि

प्राधिकरणका अनुसार पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरू गरेका कुल लाभग्राहीको सङ्ख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको प्राधिकरणले जनाएको छ ।

 ‘यसबाहेक जोखिम एवम् विपन्न वर्गका लाभग्राहीहरूको घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९ सय जना घुम्ती डकर्मी र २ सय ५४ जना सामाजिक परिचालकहरूको परिचालनसहित विशेष अभियान अघि बढाएको छ ।’–प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नु भयो ।

राष्ट्रको मुख्य प्रशासनिक भवन सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय संचालन सुरु भएको छ ।

केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरूको जिर्णोद्वार जारी छ ।

पुनर्वास

भूकम्पपछि २ सय ९९ ओटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको ज्ञवालीले बताउनु भयो ।

सम्पदाको पुनर्निर्माण

क्षतिगस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ ओटाको पुनर्निर्माण सम्पन्न गरेको र २ सय ८८ ओटा पुनर्निर्माण भइरहेका प्राधिकरणले जनाएको छ ।

रानीपोखरी पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको छ भने वैशाख ११ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको छ ।

‘बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रङ्गशाला–लोकतान्त्रिक सङ्ग्रहालय, नारायणहिटी सङ्ग्रहालय, गोरखा एवम् नुवाकोट दरबार क्षेत्र एवम् उपत्यकाका सातओटै पुरातात्विक सम्पदाहरूको गुरुयोजना स्वीकृतिको चरणमा रहेका छन् ।’–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नु भयो ।

गुम्बा

क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ ओटा मर्मत भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २ सय ६४ ओटा गुम्बामध्ये ३६ ओटा र १ सय वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ ओटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ ।

विद्यालय

भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेका छौं भने १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । यी विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

स्वास्थ्य संस्था र सरकारी भवन

१ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २ सय ९६ को पुनर्निर्माण जारी छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ ओटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किमी सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकीको पुनर्निर्माण यसै आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

कोभिड–१९को प्रभाव

कोभिडको सङ्क्रमणका कारण २०७६ चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण कार्यसम्पादनमा अवरोध उत्पन्न भएपछि नेपाल सरकारले प्राधिकरणको कार्यावधि २०७८ पुससम्म थप गरेको छ ।

कोभिडका कारण यो अवधिमा योजना अनुसारका काम सम्पन्न गर्न नसकिएको प्राधिकरणले प्रष्टिकरण दिएको छ ।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले नियमित काम गर्ने र २०७८ साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रमहरू सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना प्राधिकरणले तयार पारेको छ ।

पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग

पुनर्निर्माणमा छिमेकी तथा मित्र राष्ट्रहरूबाट ठूलो मद्दत मिलेको प्राधिकरणले जजनाएको छ । दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपियाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवम् अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैङ्कतर्फको ४९ अर्ब रुपियाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यसमध्ये २ सय ४३ अर्ब रुपियाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । यसका अलावा गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपियाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपियाँ परिचालन भएको छ ।

पुनर्निर्माणको कामबाट लाभान्वित अन्य क्षेत्र

यो अवधिमा करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी श्रृजना भएको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएको प्राधिकरणले जनाएको छ ।

स्थानीय नागरिकले रोजगारी पाएका र मुलुकमै उपलब्ध सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवम् काठलगायतका उद्योगहरूको प्रवर्धनमा टेवा पुगेको उल्लेख गरिएको छ ।

पुनर्निर्माणका क्रममा १ लाखभन्दा बढी दक्ष निर्माणकर्मी तयार भएका छन् । यसमा महिलाको सङ्ख्या पनि उल्लेखनीय छ ।

पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैङ्क खातामार्फत् वित्तीय पहुँचमा बृद्धि भएको छ । हाम्रा स्थानीय निर्माण सामाग्रीहरू काठ, ढुङ्गा, माटोको प्रयोग गर्न सकिने गरि भूकम्पप्रतिरोधी ईञ्जिनियरिङ प्रविधिहरूको विकास भएको छ ।

गत पुस अन्तिम सातादेखि चैत अन्तिम सातासम्म स्थानीय तहका जनप्रतिनिधि र त्यहाँ कार्यरत कर्मचारीका लागि विपद् जोखिम उत्थानशील विकाससम्बन्धी कार्यशाला आयोजना गरी १ हजार ११ जनप्रतिनिधिहरू र ७ सय ९९ कर्मचारीहरूलाई अनुशिक्षण तालिम उपलब्ध गराएको पनि प्राधिकरणले जनाएको छ ।

अन्य

भिडियो